आर्थिक

स्थानीय तहमा बैंक नहुँदा समस्या

इलाम । यहाँका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ ।

“कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,” फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले भन्नुभयो । बैंककै काम लिएर स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उनले बताए ।

चालू आवको बजेट वक्तव्यमार्फत सरकारले बृद्धभत्ता, शिक्षक भत्तालगायत स्थानीय तहमा जाने सबै प्रकारका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाममा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराइज, एक्सल, माछापुच्छ«े, एनआइसी एसिया बैंकलगायतका निजी तथा सरकारी बैंकले सेवा दिइरहेका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो ।