राजनीति

यसरी गृहमन्त्री जनार्दन शर्माका कारण कांग्रेसलाई लाग्दैछ झड्का !

काठमाण्डौ । स्थानीय तहको पहिलो निर्वाचन लगत्तै जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण हुँदा कांग्रेस र माओवादी केन्द्रबीच सुमधुर सम्बन्ध थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकै टाढा थियो । दुई दलबीचको सुमधुर सम्बन्धकै कारण सरकार निर्माण र सञ्चालनका लागि तीन बुँदे सहमति भएको थियो । जसका कारण स्थानीय तहको चुनावमा तालमेल समेत हुन पुग्यो । सरकार निर्माणका क्रममा दुई पार्टीबीच प्रभावशाली मन्त्रालय बाँडफाँडमा सहमति भयो । सोही सहमति र सम्बन्धका कारण माओवादी केन्द्रले गृहमन्त्रालय लगायतका प्रभावशाली मन्त्रालयहरु समेत हात पार्यो ।

कांग्रेसले त्यसमा सहमति जनायो तर अहिले आएर कांग्रेसका लागि उक्त सहमति र ती मन्त्रालयहरुनै घाँडो भएका छन् । दशैंको अन्त्यतिर एक्कासि एमाले, माओवादी र नयाँ शक्ति पार्टीबीच बाम तालमेल र पार्टी एकतानै गर्नेसम्मको सहमति भएपछि कांग्रेसका लागि माओवादीसँग भएको सहमति र माओवादीले लिएका मन्त्रालयहरु घाँडो भएका छन् ।

यसअघि माओवादीले यही दृष्टान्तलाई ध्यानमा राखेर गृहमन्त्रीलाई आफ्नो तयारीलाई तिव्र बनाउन आन्तारिक निर्देशन दिएको अहिले आएर छर्लङ भएको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा मुलुकका ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु परिवर्तन गरी आफ्नो पक्षका प्रमुखहरुलाई नियुक्त गरिएको छ ।

गृहमन्त्री शर्माले आगामी मंसिरमा हुने चुनावलाई ध्यानमा राख्दै यो कदम चालेको सहजै बुझ्न सकिन्छ । त्यसैले कांग्रेसले पछिल्ला दिन माओवादीलाई सरकारमै राखेर चुनावमा गए त्यसले बर्बादी निम्त्याउने निश्कर्ष निकालेको श्रोतको दाबी छ ।

पछिल्ला दिन लगातार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा यो विषय लगातार रुपमा उठिरहेको छ । कांग्रेसले माओवादी मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्ने तयारी गरिरहेको बुझिएको छ । माओवादीलाई सरकारमै राखेर चुनावमा गए उसको योजनामा मुलुकभरका सबै चुनावी बुथहरु कब्जा हुनसक्ने देखिन्छ ।

माओवादीले आफ्नो मातहतका प्रशासन प्रमुख र प्रहरी प्रमुख नियुक्तिको गर्नुको अर्थ यहीनै हो भनेर कांग्रेस नेतृत्वले बुझ्न जरुरी रहेको जानकारहरु बताउँछन् । यद्यपि,कांग्रेसले माओवादी मन्त्रीहरुलाई हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय भने गरिसकेको छैन ।

प्रधानमन्त्रीले माओवादी मन्त्री हटाउन सक्छन् कि सक्दैनन !
वाम तालमेलपछिको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई हटाउने तयारी गरिरहेका खबरहरु बाहिर आइरहेका छन् ।

माओवादी मन्त्रीहरुलाई सरकारमा राखेरै आगामी मंसिरको चुनावमा जाँदा कांग्रेसलाई झड्का लाग्ने देखेरै प्रधानमन्त्री देउवाले सो कदम चाल्न लाग्नुभएको बालुवाटार निकट श्रोतको दाबी छ । यद्यपि, अहिले प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई हटाएर जान सक्छन् कि सक्दैनन ? भन्ने प्रश्नहरु पनि अघि आएका छन् ।

चुनावी तयारी गर्नुपर्ने सिमित समयमा प्रधानमन्त्रीले सरकार परिवर्तन गर्दा चुनाव प्रभावित हुन्छकि भन्ने आशंका समेत गरिन थालेको छ तर प्रधानमन्त्रीले चाहे भने चौबिस घण्टाभित्रै माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेर त्यो स्थानमा अन्य मन्त्रीहरु राख्न सकिने जानकारहरु बताउँछन् । यसका लागि उनले माओवादी मन्त्रीहरुको स्थानमा ल्याउने मन्त्रीहरुको तयारी भने गर्नुपर्छ ।

अहिले सरकार परिवर्तन गर्ने हात कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीको हातमा सुरक्षित रहेको देखिन्छ । त्यसैले प्रधानमन्त्रीले मन्त्रीहरु बर्खास्त गर्न सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

गृहमन्त्रीलाई नहटाए कांग्रेसलाई झड्का लाग्ने संकेत !
पछिल्ला तीन महिनायता गृहमन्त्री शर्माले मुलुकभरका जिल्लास्थित प्रशासनिक निकाय र प्रहरी प्रमुखहरुको फेरबदल गर्दा सबैतिर सर्वत्र चासो देखिन्थ्यो । स्थानीय निकायको निर्वाचन आचारसंहिता लागू भैरहेको बेलामा समेत उनले मिति फरक पारेर प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका थिए ।

गृहमन्त्री शर्माले आगामी मंसिरको चुनावकै तयारीस्वरुप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा यो काम गरेको श्रोतको दाबी छ ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा पार्न उनले यो रणनीति तय गरेको सहजै बुझ्न सकिन्छ । गृहमन्त्री शर्माको यो रणनीति अनुकुल निर्वाचन भएमा एमाले माआोवादीका लागि निकै फाइदा हुने र कांग्रेसको स्थिति खराब हुनसक्ने देखिन्छ ।

त्यसैले गृहमन्त्री शर्मालाई सरकारमा राखेरै कांग्रेस चुनावमा होमियो भने उसका लागि निकै प्रतिकूल अवस्था आउन सक्ने धेरेको दाबी छ ।