पु.समाचार

अनन्तराम केसीले बनाए विश्व रेकर्ड !

काठमाडौँ । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् ।

मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ ।

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा उनले ८४ घण्टा भाषण गर्ने योजना भएपनि आाइतबार दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उनी सफल भएका थिए ।

भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए । उनले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गरेका हुन् ।