पु.समाचार

डा.गोविन्द केसीको निशाना अब सर्वोच्च अदालततिर

काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनशन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा अन्दोलनको चेतावनी दिएका छन् ।

भ्रष्टचार विरोधी अभियन्ता केसीले सर्वोच्च अदालतले भ्रष्टचारको आरोपमा नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका गोपाल खड्कालाई पुर्नस्थापना गर्ने र प्रक्रिया पुरा नगरी नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतका एघार न्यायधीशलाई अयोग्य घोषणा गर्ने षड्यन्त्र भइरहेको भन्ने समाचार आएपछि यस्तो चेतावनी दिएका हुन ।

‘न्यायपालिकाको लागि यो गम्भीर अपमान हो । राज्यका सबै अंग न्यायपालिका,कार्यपालिका र व्यवस्थापिकाले देश लुटिरहेका छन् ।’केसीले भने,‘एउटा नागरिकका रुपमा भ्रष्टचारविरुद्ध लड्नेछु र गलत कामलाई खुलासा गर्नेछु।’

एघार न्यायधीशलाई अयोग्य घोषणा गर्ने खेललाई केसीले‘न्यायपालिकाको कु’ को संज्ञा दिए । सोमबारको नागरिकमा लेखिएको छ, अदालतले खड्का पक्षमा अन्तरिम आदेश दिएपछि केसीले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाविरुद्ध पनि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।