पु.समाचार

वाम गठबन्धनभित्र पनि देखियो सकस, सिट बाँडफाँडमा कुरै मिलेन

काठमाण्डौ । चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन ।

दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको छ ।

कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्‍याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो ।

सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जानकारी दिए । बिशेषगरी दुई बिषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । तीन दिनभित्र सिट बाँडफाँडको आधार तयार गर्ने भनिएको छ ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, प्रारम्भिक गृहकार्यअनुसार जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम बिश्लेषण गरेर क्षेत्र छुट्टाइने छ । दुबै दलले बिशेषज्ञसंग समेत छलफल गरी चुनावी मतपरिणामको बिश्लेषण गराइसकेका छन् ।