राजनीति

राप्रपाले कँग्रेससंग सल्लाह गरेर मात्र उम्मेदवार छनोट गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० ले बृहत् लोकतान्त्रिक गठबन्धनसँग समन्वय गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारको नामावली छनोट गर्ने भएको छ ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको बृहत् लोकतान्त्रिक गठबन्धनमा सो पार्टी सदस्यका रुपमा क्रियाशील रहेकाले गठबन्धनसँग हुने समझदारीका आधारमा जिल्ला कमिटीले पठाएको नामावलीबाट उम्मेदवार छनोट गरिनेछ ।

पार्टीले वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलाई संगठनका तर्फबाट गठबन्धनमा सदस्यका रुपमा खटाएको छ । पार्टीले गठबन्धनसँग समन्वय गरी प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक उम्मेदवारको नामावलीलाई बन्दसूचीमा राखेर निर्वाचन आयोगमा पठाउनेछ ।

उक्त पार्टीले यही असोज २४ गतेभित्र केन्द्रमा पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ । पार्टी जिल्ला कमिटीले देशभरबाट पठाएको निर्विरोध उम्मेदवारको नामावलीलाई केन्द्रले प्राथमिकतामा राख्ने तथा एकभन्दा बढी सिफारिस आएका उम्मेदवारमाथि मूल्याङ्कन गरी गठबन्धनसँगको सहकार्यमा उम्मेदवारलाई टिकट वितरण गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभामा १६५ सदस्य तथा प्रदेशसभामा ३३० सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार सिफारिस गर्दा उनीहरुको लोकप्रियता र संगठनप्रतिको निष्ठालाई प्राथमिकतामा राख्न सम्बन्धित जिल्ला संगठनलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभामा ११० सदस्य तथा प्रदेशसभामा २२० सदस्यका लागि उम्मेदवार सिफारिश गर्दा उम्मेदवारले संगठन विस्तारमा निर्वाह गरेको भूमिका तथा बौद्धिक विशेषज्ञतालाई महत्व दिइनेछ । विभिन्न स्थानबाट उम्मेदवारको नामावली सिफारिस भई आउनेक्रम जारी रहेको पार्टीले जनाएको छ ।