प्रवास

विश्वकर्माको उपचारार्थ गल्कोट समाज जापानले ५ लाख आर्थिक सहयोग गर्यो

टोकियो, जापान । रोजगारीका लागि कतारमा गएका बाग्लुङका एकजना पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका गल्कोट ६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ गल्कोट समाज जापानले ५ लाख २० हजार ४ सय २१ जापानी यान आर्थिक सहयोग गरेको हो ।

गल्कोट समाजले जापानमा शुरु गरेको सहयोग अभियान अन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए । रोजगारीका लागि कतार गएका विश्वकर्मालाई सडक दुर्घटनामा गम्भीर चोट लागेको थियो र उनको अचेत अवस्थामा काठमाडौँको बिएण्डबि अस्पतालमा उपचार भइरहेको छ ।

कमाउने मूल व्यक्ति विगत ६ वर्षदेखि अचेत अवस्थामा भएको र पारिवारिक अवस्था कमजोर भएको समाचार पत्रपत्रिकामा प्रकाशित भएपछि जापानमा समाजले विश्वकर्मा सघाउ अभियान चलाएको थियो ।

विश्वकर्माको परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।