पु.समाचार

भूकम्पपीडित भन्छन्, ‘मलाई मेरो भन्दा पेटमा रहेको बच्चाको चिन्ता छ ।’ “अझ सुत्केरी भएपछि के गर्ने भन्ने चिन्तामा छु ।”

धुलिखेल । लाभग्राही भएर पहिलो किस्ता बुझिसकेका भए पनि अधिकांश भूकम्पपीडित कसरी घर बनाउने भन्ने कुरामा नै अलमलिरहेको पाइएको छ ।

एकातिर भएको घर भूकम्पले भत्किनु र अर्कोतिर दैनिकी गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेका उनीहरु घर बनाउन पैसा नभएको भन्दै सुरसार नै गर्न नसकेको बताउँछन् ।

यस्तै अन्यौलमा परेकामध्येका एक हुनुहुन्छ पाँचखाल नगरपपालिका– १२ विरनटारका सानुकान्छा दनुवार । उनको घर भूकम्पले भत्काएपछि त्यसैलाई छाप्रो बनाएर बस्दै आएका छन् । ‘सरकारले दिएको पहिलो किस्ता त लियौँं, तर त्यति पैसाले कसरी घर बनाउने ?’ प्रश्न गर्दै उनले भने, “अरु पैसा छैन, त्यति पैसाले घर बन्दैन के गर्नु ।” भूकम्पले घर भत्काएर पीडामा परेका बेला सरकारबाट पाएको पैसा पनि यताउता गर्दैमा सकेको उनले बताए ।

‘बाँकी किस्ता पनि घर बनाएपछि मात्रै पाउँछ भन्ने सुनेको छु’ सानुकान्छाले भने, “न त घर बनाउने पैसा छ, न त सरकारबाट आउने बाँकी किस्ता नै लिनसक्ने अवस्था छ, यस्तैमा बसेर नै गुजारा जान्छ जस्तो छ ।”

सानुकान्छा दनुवारका छिमेकी लक्ष्मी दनुवारको भने लाभग्राहीको सूचीमा नाम नै नपरेको गुनासो छ । भूकम्पका कारण घर भत्किएर विगत दुई वर्षदेखि छाप्रोमा बस्दै आउनु भएका उनले लाभग्राहीको सूचीमा नाम नभएका कारण आफू छाप्रोमा बस्न बाध्य भएको बताए ।

गर्भवती समेत रहेकी लक्ष्मी दनुवार अहिले जस्ताले बारेको टहरामा बस्दै आएकी छन् । ‘घर बनाउन आर्थिक अवस्था राम्रो छैन, बिहान कमाएर बेलुका छाक टार्नुपर्ने बाध्यता छ ।’ उनले भनिन्, “सरकारले पनि हामी विपन्न वर्गलाई हेरेन ।” उनले दुखेसो पोख्दै भनिन्, “दुई जिउको मान्छे टहरामा बस्न बाध्य छु ।” टहरामा बस्न समस्या भएको उनको भनाइ छ । ‘मलाई मेरो भन्दा पेटमा रहेको बच्चाको चिन्ता छ ।’ उनले दुखेसो पोख्दै थपे, “अझ सुत्केरी भएपछि के गर्ने भन्ने चिन्तामा छु ।”

त्यस्तै सोही वडाका फुलमाया दनुवार पनि टहरामा बसेको दुई वर्ष लागिसक्दा पनि राहत नपाएका कारण आफू अझै छाप्रोमा बस्न बाध्य रहेको गुनासो गर्छन् । ‘दुईवर्ष भयो घर भत्किएको, एउटै छाप्रोमा गाईबस्तु र आफूसँगै खाने बस्ने गरेका छौँ ।” फुलमायाले भनिन् ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरभित्रको भूकम्पपीडितको छुटेकाको पहिलोचरणको विवरण संकलन भइसकेको र अझै छुटेका भन्ने गुनासो आइरहेकाले पुनःविवरण संकलन गर्नका लागि कसरी गर्ने भन्ने विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरेर पहल भइरहेको बताए ।

पहिलो किस्ता लिएर रकम अभावका कारण घर बनाउन नसक्नेको विषयमा भने राष्ट्रिय समस्या नै भएकाले त्यसको लागि पनि पहल भइरहेको उनको भनाइ छ ।

दुई वर्षअघि भूकम्पका कारण आवास गुमाएका जिल्लाका अधिकांश भूकम्पपीडितले पैसा नभएको र भए पनि दक्ष कामदारको अभावका कारण घर बनाउन नपाएको गुनासो गर्देै आएका छन् ।