राजनीति

किन चर्कियो एक्कासि कम्युनिष्ट अधिनायकवादको बहस ? कांग्रेसले यसरी पछार्न सक्छ वाम गठबन्धनलाई !

काठमाण्डौ । मुलुकको पछिल्लो विकसित राजनीतिक परिवेश र ती घटनाहरुलाई लिएर यसबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्को बहस सुरु भएको छ । दशैंकै बीचमा मुलुकका बामपन्थी पार्टीहरु एक हुने घोषणा भएपछि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको प्रयास सुरु भएको छ । यसले मुलुकको राजनीतिक परिवेशलाई दुई धुर्वमा विभाजित गरिदिएको छ ।

धेरैले एमाले,माओवादी केन्द्र र नयाँ शक्तिबीचको गठबन्धन र पार्टी एकता गर्ने निर्णयलाई कम्युनिष्ट अधिनायकवादको जन्म हुन सक्ने भन्दै आशंका व्यक्त गरिरहेका छन् भने केहीले यो चुनावी तालमेलमा मात्र सिमित हुन सक्ने भन्दै चुनावसम्म मात्रको रौनक भनिरहेका छन् ।

त्यतिमात्र होइन पछिल्ला दिन अर्को हल्ला पनि चलिरहेको छ । त्यो हो प्रजातान्त्रिक गठबन्धनको आवरणमा पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन सक्छन् । यी दुवै हल्ला सर्वसाधारणसम्म निकै गाढा ढंगले चल्न थालेको छ ।

के यो मुलुकमा अब कम्युनिष्ट अधिनायकवाद र राजतन्त्रको सम्भावना छ ? के कम्युनिष्टहरुले राज्यसत्ता कब्जा गर्न सक्लान ? के नेपाली जनताले एकपटक खरानी पारिसकेको राजतन्त्र र उसको भूत व्युँतिएर फेरि आउला ? यी यावत प्रश्नहरु अघि आउन सक्छन् । तर यी प्रश्नहरुको उत्तर त्यति सहज नभएपनि सजिलै यी व्यवस्था नेपालमा आउन गाह्रो छ ।

कम्युनिष्ट अधिनायकवाद त्रास !
वास्तवमा लामो समय कम्युनिष्ट आन्दोलनमार्फत भूक्तभोगी भएर आएको नेकपा एमाले र दश वर्षको शसस्त्र युद्धमार्फत स्थापित भएको माओवादी केन्द्रबीच चुनावी तालमेल मात्र होइन, पार्टी एकतानै गरेर जाने प्रारम्भिक सहमति भएको छ । यसले मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याइदिएको छ ।

एमाले र माओवादीबीच एकता हुन्छ कि हुँदैन, त्यो निश्चित भैसकेको छैन । यदि एकतानै भयो भने पनि उक्त पार्टीले मुलुकमा कम्युनिष्ट अधिनायकवादको नेतृत्व गर्न सम्भव छैन । किनभने मुलुकको पछिल्लो राजनीतिक धुर्वीकरण र विकसित घटनाक्रमबारे छिमेकी मुलुकहरुबाट पनि प्रतिक्रियाहरु आइरहेको छ ।

कम्युनिष्टहरु मिल्नु अशुभ संकेत हो । दिल्लीले यसलाई निकै गहिरोसँग नियालिरहेको छ । उसले नेपाली कांग्रेसको नेतृत्वमा निर्माण हुने लोकतान्त्रिक गठबन्धनलाई च्याप्ने सम्भावना देखिदै गएको छ ।

दिल्लीमा कम्युनिष्टहरु एक बनाउने काम चीनले गरेको भनेर टिप्पणी हुन थालेका छन् । छिमेकी मुलुकहरुको टिप्पणीले मात्र यो कुराको पुष्टि हुन्न । मुलुकभित्रैको दलीय प्रतिस्पर्धा र जनमतलाई हेर्दा अहिले पनि नेपाली कांग्रेस सबैभन्दा ठूलो जनमत भएको पार्टी हो ।

स्थानीय चुनावमा एमाले अघि देखिएपनि उसले एमालेलाई टक्कर दिइरहेको छ । कांग्रेसले एउटा कुरा के बुझिरहेको छ भने माओवादीसँग एलायन्स गर्दा कांग्रेस पछि परेको हो । कांग्रेसभित्र अहिले पनि एक्लै चुनाव लड्दा धेरै जनमत प्राप्त हुने विषयमा बहस भैरहेको छ । त्यसैले कांग्रेस आफैमा बलियो दल भएकोले दुई कम्युनिष्ट मिल्दा एकल कम्युनिष्ट अधिनायकवादको जन्म हुन गाह्रो छ ।

अर्को सवाल छिमेकी भारतको हातले महत्वपूर्ण अर्थ राख्न सक्छ । जसरी यसबेला नेपालका कम्युनिष्टहरुले दिल्लीलाई समेत सरप्राइज दिएको भन्ने बहस बाहिर आएको छ, अब भारतले आफ्नो आन्तारिक कुटनीतिलाई बदल्न सक्ने जानकारहरु बताउँछन् । एमालेसँग भारतको तिक्तता बढिरहेको बेला माओवादीले उही एमालेलाई साथ दिएपछि भारत झस्किएको छ ।

उसको अबको रणनीति नेपालमा लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनु हुनेछ । भारतले अघि सारेको भनिएको राजपासँग अब बल्ल नेपाली कांग्रेस आइपुगेको र मधेसको मुद्धालाई थप तिखारेर लैजान भारतलाई सहज भएको छ । यसले कम्युनिष्टहरुले देखेको सपना भुत्ते बनाइदिनसक्ने धेरेको आंकलन छ ।

त्यतिमात्र होइन, करिब एक दशकअघि देखि पार्टी एकता गरेर जाने एमाले–माओवादीको तयारी सैद्धान्तिक दृष्टिकोण नमिल्दा बीचमा असफल समेत भएका दृष्टान्त धेरै छन् । यो पटक पनि कुन आधारमा पार्टी एकता गर्ने भन्ने सवालमा दुवै पार्टीका शीर्ष नेताहरुबीच गम्भी गृहकार्य भने भएको देखिदैन् । प्रचण्डले निकै हतारमा पार्टी एकता गरेर जाऔं भनेका छन् ।

सोही हतारोमा मंसिर पछिको चुनावमा बहुमत कसरी जुटाउने भन्ने अवसर पर्खेर बसेका एमाले अध्यक्ष ओलीले ताल मिलाइदिएको बुझ्न सकिन्छ । सम्भवत, मंसिरको चुनावी परिणाम जे आएपनि यी दुई दलको सहकार्य सँगै जान नसक्ने एमालेका केही शीर्ष नेताहरुनै बताउँछन् । एमालेले यो पटक माओवादीलाई राम्रोसँग उपयोग गरेको उनीहरुको भनाई छ ।

कांग्रेसले अब यस्तो तयारी गर्नुपर्छ
वाम एकता गर्ने घोषणा भएको दुई दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्री देउवा र उनीबीच वाम एकता र त्यसले पार्ने प्रभावका विषयमा समेत छलफल भएको श्रोतले बताएको छ ।

छलफलका क्रममा दाहाल एमालेसँग मिल्दै गर्दा उत्साहित जस्तो देखिएपछि कांग्रेससँग सहकार्य टुटाउँदा भोली आउने परिणामबारे गम्भीर भएको समेत श्रोतको दाबी छ । दाहालको यो मनोविज्ञानलाई बुझेर नेपाली कांग्रेसले तयारी गर्नुपर्छ । कम्युनिष्टहरु किन जुट्दैछन् भन्ने विषयमा समेत लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुले गम्भीर ढंगले सुक्ष्म अध्ययन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

तत्कालका लागि कांग्रेसले आफ्नो जनमत प्राप्त इलाकाहरुमा विशेष निगरानी बढाउनुपर्छ किनभने गृहमन्त्री माओवादी केन्द्रकै नेता भएकोले उनले मंसिरको चुनावको तयारीमा ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु आफ्नो अनुकुल बनाएका छन् ।

यसतर्फ पनि प्रधानमन्त्री देउवाले विशेष ध्यान दिनुपर्छ । त्यतिमात्रै होइन, लोकतान्त्रिक गठबन्धनमा समेटिने दलहरुलाई समेत कांग्रेसले निकै सतर्कता अप्नाएर साथ दिनुपर्ने जानकारहरु बताउँछन् ।

यो त चुनावी रणनीति भयो । तर कम्युनिष्ट अधिनायकवाद उदय हुने सम्भावित खतराकाविरुद्ध कांग्रेसले यति गरेर मात्र पुग्दैन । सुरुमा चुनावमार्फत आफ्नो क्षेत्र कब्जा गर्ने रणनीति बनाएका कम्युनिष्टहरुको आधार क्षेत्रमा कांग्रेस गठबन्धनले विशेष निगारानी समेत गर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यसका लागि कांग्रेसले करिब एक सयवर्ष अभ्यास गर्दै वीपीको समाजवादी सिद्धान्तलाई जनतामा थप पुनःस्र्थापित गराउनुपर्ने जानकारहरु बताउँछन् । लामो समय नेपाली कांग्रेसले मुलुकको नेतृत्व गर्नुमा पनि वीपी र उनले अघि सारेका मार्गदर्शननै प्रयाप्त भएकोले यसलाई समेत कांग्रेस र त्यसको नेतृत्वले आत्मसात गर्नुपर्छ ।

मेलमिलापको नीतिदेखि थुप्रै सैद्धान्तिक मार्गदर्शन कांग्रेसका लागि अहिले पनि समयअनुकुल देखिन्छन् । त्यसले मात्र कम्युनिष्टहरुका यावत सैद्धान्तिक हतियारसँग पौठेजोरी खेल्न सक्छन् ।