प्रवास

आफ्नो कार्यकालको सम्पूर्ण जस श्रीमतीलाई दिन्छु – शेष घले

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताएका छन् ।

विजय विकास स्रोत केन्द्र, गैँडाकोटको ३२औँ साधारणसभाको आज गैंडाकोटमा उद्घाटन गर्दै घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाए ।

विजय परिवारको कामबाट आफू प्रभावित बनेको बताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्ति सामाजिक संस्थामा आबद्ध हुन नहुने विचार राखे । आफ्नो सफलताको पूर्ण जस श्रीमती जमुना घलेलाई दिएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गरे ।

आफूले एनआरएनमा लागेर व्यवसायलाई समेत बिर्सिएको बताउँदै घलेले देश विकासका लागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने बताए ।

घलेले एनआरएन स्वदेशमा लगानी बढाउने भावनाका साथ अगाडि बढेको बताए । घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाउँको विकासका लागि निकै भावनात्मक सम्बन्ध आफूसँग भए पनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गरे ।

साथमा एनआरएनका प्रतिनिधि पनि सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक दील गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालले गराएका थिए ।