पु.समाचार

भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सीमा रक्षक देवनारायण र छोरा रिहा

राजविराज । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् ।

सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

यही असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुपौलको कुनौली थाना गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेका देवनारायण र उनका छोरा अजय विरुद्ध भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको थियो । भारतको कुनौलीकी १८ वर्षीया ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेकी थिइन् ।

ती युवतीका परिवारजनले कुनौली थानामा अपहरणसम्बन्धी उजुरी दिएपछि अजय र उनका बुबा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएको प्रहरी स्रोतबाट बुझिएको छ ।

गत २०७३ साउन १३ गते दशगजा क्षेत्रअन्तर्गत नेपाल–भारत सीमामा पर्ने तिलाठीस्थित भारतीय पक्षले बनाएको अवैध बाँध भत्काएको विषयमा देवनारायणकै अगुवाइमा भारतीय र नेपालीबीच झडप भएको थियो । सोही घटनाको बदलास्वरुप उहाँ र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको आरोप छ ।