राजनीति

कांग्रेस नेता निधि फेरि अर्को अग्नि परीक्षामा, गठबन्धनलाई प्रभावित पार्ने संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् विमलेन्द्र निधि । उनी सो पार्टीभित्र योजनाकारका रुपमा समेत चिनिने गर्छन् । कांग्रेसलाई हाँक्ने मात्र होइन, मुलुकको राष्ट्रिय राजनीतिलाई समेत हाक्ने सवालमा विशेष दख्खल राख्ने निधिको काँधमा फेरि एकपटक महत्वपूर्ण जिम्मेवारी परेको छ ।

उनी शुक्रबार बृहत लोकतान्त्रिक गठबन्धनलाई हाक्ने कमाण्डर तोकिएका छन् । लोकतान्त्रिक गठबन्धनको पहिलो बैठकले कार्यदलको संयोजकमा नेता निधिलाई सर्वसम्मतिले चयन गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

नेता निधिको काँधमा अब आगामी निर्वाचनमा टक्कर गर्न थालेका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच सन्तुलन मिलाउँदै चुनावी परिणाम आफ्नो पक्षमा महत्वपूर्ण जिम्मेवारी आएको छ ।

जानकारहरुका अनुसार मुलुकमा एक्कासि देखिएको राजनीतिक धुर्वीकरण र त्योबीचमा नेता निधिको अग्नि परीक्षा हुँदैछ । उनी कार्यदलको संयोजक मात्र नभई निर्वाचनका न्युनतम साझा कार्यक्रम लगायतलाई विषयलाई व्यवस्थापन गर्ने जिम्मेवारी बोकेका कमाण्डर हुन्, जसले मुलुकको राष्ट्रिय राजनीतिमा एकातिर कम्युनिष्टहरु र अर्कोतिर प्रजातान्त्रिक धारको प्रतिनिधित्व गर्ने शक्तिको बीचमा रहेर काम गर्नुपर्ने हुन्छ ।

कांग्रेसको भावी सभापति र भारतीय संस्थापन पक्षसँग समेत निकै घनिष्ठ सम्बन्ध रहेका भनिएका निधिलाई यसअघिका सत्ता समीकरण मिलाउने योजनाकारका रुपमा समेत चिनिन्छ । त्यसैले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिवेशलाई सन्तुलनमा ल्याउन नेता निधि कत्तिको सफल हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ ।