खेलकुद

विश्वकप छनोटः अमेरिकाका लागि शुभ संकेत

एजेन्सी ।  अमेरिकाले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा पानामामाथि ४–० को जित निकाल्दै अमेरिकाले विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।

अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन  पुलिसिक र बबी वुडले एक एक गोल गरे । आठौँ मिनेटमा पुलिसिकले गोल गर्दै अमेरिकालाई सुुरुवाति अग्रता दिलाए । अमेरिकाको ओरलाण्डोमा भएको खेलमा १९ औँ मिनेटमा एल्टिडोरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

४३ औँ मिनेटमा पाएको पेनाल्टीमा एल्टिडोरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो ।  ६३ औँ मिनेटमा वुडले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो । जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ ।

अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ । यो खेलमा जित निकालेमा र दोस्रो स्थानमा रहेको कोस्टारिकालाई पानामाले हराएमा अमेरिकाले विश्वकपमा स्थान बनाउने सम्भावना रहन्छ । कोस्टारिकाले आइतबार होण्डुरसँग खेल्दैछ । यो क्षेत्रबाट मेक्सिको छनौट भइसकेको छ ।