विशेष

पछिल्लो राजनीतिक परिस्थितिबारे प्रदिप गिरी र गगन थापाको तर्क, कांग्रेस नेता–कार्यकर्ताले पढ्नैपर्ने सुझाव !

काठमाण्डौ । भखैरै भएको वाम एकता र लोकतान्त्रिक गठबन्धनको एकता प्रयासले मुलुकको राजनीति रंगमञ्च तरंगित भएको छ । मुलुक अब दुई धु्रवमा विभाजित भएको छ । कम्युनिष्टहरु एकातर्फ र प्रजातान्त्रिक शक्तिहरु अर्कोतर्फ मोर्चाबद्ध हुने क्रम बढेको छ ।

यसले आगामी चुनाव मात्र होइन, चुनावपछिको राजनीतिक भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिदैछ । यो सवालमा राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा समेत बहस भैरहेको छ ।

दुई धु्रवमा विभाजित भएको राजनीतिक समीकरणमा कसको जित होला ? सर्वसाधारणहरुमा यस्तै खालका प्रश्नात्मक कौतुहलताहरु बढिरहेको स्थिति छ । के अब मुलुकमा कम्युनिष्टहरु र प्रजातान्त्रिक शक्तिहरुबीचमा टक्कर बढेको हो । एमालेले देखाएको ६० र ४० प्रतिशत सिटको ललिपपमा माओवादी भुलेकै हो ? यो विषयमा कांग्रेस, एमाले र माओवादी नेताहरुका आ–आफ्नै तर्कहरु रहेका छन् ।

आगामी चुनावमा बहुमत ल्याउने सपनासहित वामगठबन्धन भएको भनिएता पनि त्यो सपना साकार हुन नसक्ने कांग्रेस युवा नेता गगन थापा बताउँछन् ।

थापाका अनुसार नेपाली कम्युनिष्टहरुले इमान्दारपूर्वक वाम एकता गरेका हुन् भने उनीहरु अब ३० प्रतिशतको स्पेसमा खुम्चिएको दाबी गरे । नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्नेहरुको रहेको बताउँदै नेपाली कांग्रेसका लागि उक्त स्पेस खुल्ला भएको समेत उनले बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका युवा नेता थापाले यसअघि एमाले पनि नेपालमा विद्यमान प्रजातान्त्रिक मूल्य मान्यतालाई स्वीकार्ने ७० प्रतिशत स्पेसभित्र छिरेको र त्यहाँ नेपाली कांग्रेससँग प्रतिस्पर्धा गरिरहेको र अहिले वाम कित्तामा गएलगत्तै ३० प्रतिशत स्पेसमा पुगेको प्रस्ष्ट पारे ।

युवा नेता थापाका अनुसार अब नेपाली कांग्रेसका निकै खुल्ला स्थान प्राप्त भएको र एमाले ३० प्रतिशतमा खुम्चिएको छ, जुन नेपालका कम्युनिष्टहरुको स्पेस हो । एमाले यसपटक कम्युनिष्ट आन्दोलन जोगाउने नाममा सिमित स्थानमा खुम्चिनु कांग्रेसका लागि फाइदाको विषयम समेत रहेको उनको तर्क देखिन्छ ।

त्यस्तै नेपाली कांग्रेस मात्र होइन मुलुककै बौद्धिक नेताका रुपमा चिनिने नेता प्रदिप गिरीका अनुसार बाम तालमेलको कुरा हास्यास्पद हो । गिरीका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका दिन अब सकिएका छन् ।

माओवादी पार्टी नेपाली समाजमा घुलमिल भैसनक्सदै एमाले र माओवादीले वाम एकताको प्रयास गरेको बताउँदै उनले यो अभ्यासले मोहन वैद्य र विप्लवको पार्टीलाई सहयोग पुग्ने समेत तर्क गरे । वाम तालमेल चुनाव र सत्ताका लागि मात्र भएकोले यसबाट प्रजातान्त्रिक शक्तिहरुले डर मान्नु नपर्ने गिरीको तर्क छ ।