राजनीति

प्रधानमन्त्री देउवाले एक्कासि गम्भीर कदम चाल्दै, अब के गर्ला माओवादी केन्द्रले ?

काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एक्कासि चुनावी तालमेल र पार्टी एकता हुने निर्णय भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर कदम चाल्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारमा सहभागी माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका हुन् । यद्यपि, प्रधानमन्त्री देउवाले आगामी कातिक ५ गते यता भने सो कदम चाल्ने छैनन् ।

कातिक ५ गतेबाट संसदको म्याद सकिने र अविश्वासको प्रस्ताव समेत टरेर जाने निश्चित भएपछि प्रधानमन्त्री देउवाले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गर्नुभएको श्रोतले बताएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा निर्माण भएको सरकारमा माओवादीले प्रभावशाली मन्त्रालयहरुको जिम्मेवारी पाएको थियो ।

दशैंको बीचमा एक्कासि वामपन्थी तालमेल भएपछि प्रधानमन्त्री देउवाले तालमेलको सबैभन्दा महत्वपूर्ण हस्ती मानिएको माओवादी केन्द्रलाई सरकारमा राखिरहन उचित नठानेको श्रोतको दाबी छ ।

कांग्रेसले माओवादी केन्द्रको साटो राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग सहकार्य गर्न हात अघि बढाएको छ । कातिक ५ गतेपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने र आवश्यक परे सहकार्य गरेका दलहरुबाट मन्त्रीहरु थपेर निर्वाचन सम्पन्न गर्ने तयारीमा प्रधानमन्त्री देउवा लाग्नुभएको श्रोतको दाबी रहेको छ ।

उता, सरकारमा सहभागी माओवादी केन्द्रले भने मंसिरमा हुने चुनावसम्म सरकारलाई दिएको निर्णय फिर्ता नगर्ने बताइरहेको छ ।