राजनीति

प्रधानमन्त्री देउवाको आग्रहलाई किन टेरेनन् पुष्पकमल दाहालले ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । दशैको बीचमा एक्कासि एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकता हुने सहमति भएपछि यसबेला नेपालको राजनीतिक परिवेश तरंगित भएको छ । वामगठबन्धनको नाममा भएको उक्त सहमति लगत्तै नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माणको अभियान सुरु भएको छ ।

एक्कासि मुलुकको राजनीति दुई धुर्वमा विभाजित भएको छ । एमाले, माओवादी र नयाँ शक्तिबीचको उक्त गठबन्धनलाई नेपाली कांग्रेसले गलत कामको सुरुवात गरेको निश्कर्ष निकालेको छ भने यसले आगामी मंसिरमा हुने निर्वाचनलाई समेत प्रभावित पार्ने सम्भावना देखिदै गएको छ ।

वामपन्थी धुर्वीकरणले कांग्रेस लगायतका शक्तिहरुलाई फिका बनाउने अभियानको सुरुवात भएको कांग्रेसले आशंका गरिरहेको छ । त्यतिमात्र होइन सरकारको भविष्यमाथि समेत आशंकाहरु पैदा भएका छन् ।

के एमाले र माओवादीहरुको यो एकता प्रयासले मुलुकमा फेरि द्धन्द्धको बीउ रोपिने संकेत देखिएकै हो त ?वामपन्थीहरुको एकताले लोकतान्त्रिक पक्षधर शक्तिहरुलाई कत्तिको असर पर्ला ? तत्काल सरकार ढल्ने सम्भावना छ कि छैन ? यी आदि प्रश्नहरु अघि आएका छन् । यद्यपि, एमालेले नयाँ सरकार निर्माण गर्ने विषयमा यो एकता प्रयास नजोडिएको बताउँदै आएको छ भने माओवादीले पनि सोही कुरामा जोड दिएको छ ।

तैपनि विश्वास गरिहाल्ने आधारहरु निर्माण भएका देखिदैनन् । त्यसैले प्रधानमन्त्री देउवाले वामपन्थी एकताको घोषाणा भएको चौबिस घण्टा पनि नवित्दै आफ्नो आन्तारिक तयारीलाई तिव्र रुप दिन सुरु गरेका छन् ।

एमाले–माओवादी एकता घोषणालगत्तै प्रधानमन्त्री देउवाको सक्रियता
दशैंको बीचमा एमाले र माओवादीहरुले आगामी चुनाव मात्र होइन, त्यसपछि पार्टी एकतानै गरेर जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले तत्काल गृहमन्त्री जनार्दन शर्मासँग यो के भएको हो ? भनेर सोधेका थिए ।

गृहमन्त्री शर्माले पार्टी एकता हुन थालेको जवाफ दिएका थिए । दुई पार्टीबीच भएको ४० र ६० प्रतिशतको विषयमा समेत प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए । प्रधानमन्त्री देउवाको जिज्ञासालगत्तै गृहमन्त्री शर्माले यो चुनावी तालमेल नभई पार्टी एकताकै सुरुवाती चरण भएको बताएपछि उनले फोन राखेको श्रोतले बताएको छ ।

मंगलबारको सो घोषणा गर्नुअघिनै प्रधानमन्त्री देउवाले भने एमाले र माओवादीहरुबीच चुनावी तालमेले हुँदैछ र त्यसले नेपाली राजनीतिक रंगमञ्चमा नयाँ तरंग पैदा गर्दैछ भन्ने संकेत पाइसकेका थिए ।

त्यसलगत्तै उनले वामपन्थीहरुबीच हुने समीकरण तोड्ने निकै प्रयास गरेको श्रोतले बताएको छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मंसिरको चुनावअघि नै नयाँ सरकार निर्माण गर्न आफु तयार रहेको र त्यसको नेतृत्व प्रचण्डलाई दिन तयार रहेको समेत बताएका थिए ।

प्रधानमन्त्री देउवाले दुईपटकसम्म दाहाललाई प्रधानमन्त्री बनाउन पहल गर्ने आश्वसन दिँदा समेत प्रचण्डले मानेनन् । एमाले, माओवादी र नयाँ शक्तिबीच एकता प्रक्रियाको घोषणा हुनुभन्दा केहीबेर अघिसम्म दाहालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।

ती भेटवार्तामा प्रधानमन्त्री देउवाले वामपन्थीहरुसँग हुन लागेको राजनीतिक समीकरणलाई असफल बनाउन निकै ठूलो प्रयास गरेका थिए, अन्ततः उनी आफै उक्त समीकरण निर्माण रोक्ने प्रयासमा असफल भए ।

माओवादी केन्द्र कांग्रेससँगको तालमेलबाट टाढिदै जानुको कारण दुई नम्बर प्रदेशको चुनावमा ती दुई पार्टीबीच भएको तालमेलको असफल प्रयास पनि हो । माओवादी केन्द्र र कांग्रेसका नेताहरुको उच्च महत्वाकांक्षाका कारण दुई नम्बर प्रदेशको स्थानीय चुनावमा चुनावी तालमेल हुन सकेको थिए । त्यसपछि प्रचण्डले एमालेसँग कार्यगत एकता गरेर जाने निहुँ पाए, श्रोतको दाबी छ ।

सरकारको भविष्य के होला ?
वामपन्थीहरुको तालमेल प्रयासलगत्तै प्रधानमन्त्री देउवाले सरकारका अगाडि आउने सम्भावित चूनौती र त्यसको समाधानका बारेमा आन्तरिक बहस सुरु गरेका छन् । बुधबार मात्रै उनले दर्जनौ व्यक्तित्वहरुसँग बहस गरे । बुधबारै भएको कानूनविदहरुसँगको छलफलमा पनि उनले यदि माओवादी र एमाले मिलेर संसदमा अविश्वासको प्रस्ताव ल्याए, सरकार ढल्छ कि ढल्दैन ? भन्ने प्रश्न गरेका थिए ।

कानूनविदहरुले त्यसमा बहुमत र अल्पमतको विषय जोडिएर जाने भएकोले कांग्रेसले बहुमतको आधार तयार गर्न सल्लाह दिएका थिए । प्रधानमन्त्री देउवाले बुधबारै लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयासका लागि बहस सुरु गरेका छन् ।

बिहीबारदेखि लोकतान्त्रिक गठबन्धनमा जोडिने सबै दल र पक्षहरुबीच औपचारिक छलफल हुने तयारी कांग्रेसले गरेको छ । यसले मुलुक अब दुई राजनीतिक धु्रवमा विभाजित भएको प्रस्ट संकेत दिएको छ ।