राजनीति

एमाले र माओवादीबीच एकता प्रक्रियामा हस्ताक्षर भएलगत्तै माओवादीभित्र भाँडभैलो, पार्टी फुट्ने निश्चित !

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने घोषणा भएलगत्तै माओवादी केन्द्रभित्रै भाँडभैलो सुरु भएको छ । मंगलबार ती दुई पार्टीबीच एकतासम्म प्रक्रिया थालनी सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएलगत्तै माओवादी केन्द्रभित्र भाँडभैलो सुरु भएको हो ।

ती दुई पार्टीबीच एकता प्रक्रिया सुरु भएलगत्तै माओवादीभित्र कट्टरपन्थी धारको नेतृत्व गर्दै आएका पार्टी सचिवालय सदस्य गोपाल किराँतीको समूहले माओवादी केन्द्रनै पुनगर्ठन गर्ने तयारी गरेको छ । नेता किराँतीले अध्यक्ष प्रचण्डले अघि सारेको प्रस्तावको चर्को विरोध गरेका छन् ।

उनले अब माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारीहरुलाई एक हुन आह्वान गर्दै माओवादी पार्टी पुनर्गठन गर्ने अभियानमा एक हुन आह्वान गरेका छन् ।

आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै नेता किराँतीले मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गरेका छन् । यस्तो छ उनले गरेको आह्वानको पूर्ण विवरणः

१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।

(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।

(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।

(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु ।

नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।