कृषि

अर्गानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।

सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५ किसानमध्ये ४८ जना अग्र्यानिक तरकारीखेतीमा संलग्न छन् । यहाँका किसानले रासायनिक मल र विषादी विस्थापन गरी घरमै गड्यौँला पालेर तयार पारिएको मल र जैविक विषादीबाट तरकारीखेती गर्दै आएका छन् ।

गड्यौँलाको सेड निर्माण र चाराका लागि समूहमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले सहयोग गरेको छ । आयोजनाले गड्यौला पालन र तरकारीखेतीका लागि रु २५ लाख ९४ हजार ३०० रकम अनुदानस्वरुप उपलब्ध गराएको सहकारीका बजारमुखी तरकारी उत्पादन उपआयोजनाका अध्यक्ष शिवराज भट्टले बताए ।

समूहमा आबद्ध घोर्सुवा, सुडा र सुन्दरपुरका किसानले उत्पादन गरेको अग्र्यानिक तरकारी रासायनिक विषादीको प्रयोग भएको तरकारीको तुलनामा १० प्रतिशत बढी महँगो हुने गरेको छ ।

“अग्र्यानिक तरकारी स्वास्थ्यवद्र्धक भएकाले महँगो भए पनि माग अधिक छ,” अध्यक्ष भट्टले भने।

स्थानीय सुन्दरपुरका किसान गंगाराम पन्तले अग्र्यानिक तरकारीखेतीबाट वार्षिकरुपमा रु दुई लाख बढी आम्दानी हुने गरेको बताए ।

अग्र्यानिक तरकारीखेतीबाट उत्पादित तरकारी व्यापारीले सहजै बारीबाटै खरिद गरेर लाने गरेको उहाँले बताउनुभयो । केही तरकारी महेन्द्रनगर, सुडा, सिसैयालगायतका बजारमा बिक्री हुने गरेको छ ।

अग्र्यानिकरुपमा लौका, फर्सी, भिण्डी, पिरो खुर्सानी, गोलभेँडा, बोडी, प्याज, काँक्रा, घिरौँला यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।

अग्र्यानिक तरकारीखेतीमा संलग्न किसानको दक्षता वृद्धि गर्न आइपिएम कृषक पाठशाला, व्यावसायिक तरकारीखेती, गड्यौँला मल उत्पादन र प्लास्टिक टनेलमा तरकारीखेती गर्ने तरिकाबारे सहकारीले तालीम दिँदै आएको छ ।

व्यावसायिक तरकारीखेती गर्दै आएका यहाँका एकजना किसानले वार्षिकरुपमा रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिकरुपमा यहाँका किसानले ५०० टनभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् जसको बजार मूल्य रु एक करोडभन्दा बढी हुने गरेको छ ।

किसानलाई सहयोग पु¥याउन पावर टेलर, स्प्रेयर टंकी, तराजु, तरकारी क्रेट, डिजिटल तराजु निःशुल्करुपमा उपलब्ध गराउनाका साथै जिल्ला बाहिरका किसानले गरेको प्रगतिबारे जानकारी दिन अध्ययन अवलोकन भ्रमणमा समेत सहकारीले लाने गरेको छ ।

किसानलाई तरकारी बिक्रीमा सघाउन तरकारी संकलन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । विसं २०६८ मा स्थापना भएको यो सहकारीमा २६४ सदस्य आबद्ध रहेका छन् ।