शिक्षा

अनशनरत गजुरेलको स्वास्थ्यावस्था कमजोर बन्दै

काठमाडौँ । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै आमरण अनशन बस्नुभएका शिक्षक डा महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कार्यालय अगाडि आंशिक प्राध्यापक संघको आह्वानमा पाँच दिनदेखि आमरण अनशन बस्नुभएका गजुरेलको पिसाबमा खराबी देखिएको छ ।

“पाँच दिनदेखि आमरण अनशन बस्नुभएका शिक्षक गजुरेलको रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको छ”, आंशिक प्राध्यापक संघका सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले भने।

यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले डा गजुरेलले आमरण अनशन शुरु गरेका हुन् ।

त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।