राजनीति

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

तेह्रथुम । दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् ।

काँग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन् । काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
संघको निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम जिल्लाबाट सिफारिस भएको छ ।