पु.समाचार

दशैंको प्रवाह समेत नगरी संघ र प्रदेशको चुनावी चहलपहल

नारायण अधिकारी/
चितवन । आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा परिणाम पार्ने पक्षमा जुटेका छन् ।

त्यसो त आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भएको छ ।

नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन–४ नम्बर र हालको–३ नम्बर क्षेत्रमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा उठ्ने जनाएपछि यहाँ चुनावी चर्चा अरु थपिएको छ ।

निर्वाचनमा कुन/कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्यौल रहे पनि आ–आफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने शुरु गरेका छन् । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार असोज १० गतेभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ ।

असोज १३ गते क्षेत्रले जिल्लालाई सिफारिस गर्दैछ भने असोज १७ गते जिल्लाले केन्द्रलाई सिफारिस गर्दैछ ।

यससँगै आ–आफ्नो नाम सिफारिसमा पार्न जिल्लास्थित नेता दौडधूपमा रहेका छन् । गाउँ तहदेखि नै विभिन्न ढंगले चुनावी प्रचारलाई तीव्रता दिन थालिएको उनले बताए ।

स्थानीय तहमा नराम्रोगरी पराजय हासिल गरेको नेपाली काँग्रेस चितवनले संघ र प्रदेशको निर्वाचनमा गुमेको छवि फिर्ता ल्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ ।

स्थानीय तहमा निकै राम्रो नतिजा ल्याउन सफल नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरु बढी उत्साहित बनेको छ । नेकपा ९एमाले० चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । यद्यपि वडा तहदेखि नगर हुँदै क्षेत्र र प्रदेशमा कार्यालय स्थापना गरेर प्रचार अभियान शुरु गरेको उनले बताए ।

निर्वाचन परिचालन कमिटी गठन गरी वडादेखि जिल्लासम्म पार्टीपंक्ति निर्वाचनमा केन्द्रीत भएको उनले बताए । निर्वाचनलाई ध्यानमा राख्दै पार्टी कार्यकर्तालाई प्रशिक्षण पनि शुरु गरिएको छ ।

माओवादी केन्द्र चितवनका पूर्व अध्यक्ष एवं पोलिटब्युरो सदस्य यमबहादुर परियार अभियानकै रुपमा निर्वाचन प्रचार शुरु नगरे पनि तयारी भने थालिएको बताउछन् ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुख पद जित्न सफल माओवादी केन्द्र काँग्रेस वा एमालेसँगै मिलेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा निर्वाचित गर्न चाहेको छ ।

त्यसो त दाहाल आफैँले चितवनबाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । पार्टीका एक नेताका अनुसार दशैँपछि मुख्यालय नै चितवनमा स्थापना गरेर दाहाल आफैं निर्वाचनमा जुट्ने तयारीमा छन्।
राप्रपा (प्रजातान्त्रिक) ले पनि चुनावी प्रचारलाई भित्रीरुपमा शुरु गरेको छ । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गरेका थिए ।

सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ । यो क्षेत्रबाट दाहालले निर्वाचन लड्ने जनाएपछि राप्रपा अन्यौलमा छ ।

यद्यपि क्षेत्र नं ३ बाट नै आफू निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्रीसमेत रहनुभएका विक्रम पाण्डेले बताए ।

जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले असोज २५ गतेभित्र जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने बताए । अहिले गाउँ, नगर र क्षेत्रबाट सिफारिस हुने क्रम भइरहेको उहाँले बताए ।

केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो । जिल्लाको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्र नं– १ मा पर्दछ । जसको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका वडा नं। ३,६, ७, ८, ९, १० र ११ क प्रदेशमा प्रदेशमा पर्दछ भने खैरहनीका बाँकी वडा र रत्ननगर नगरपालिका ‘ख’ प्रदेशमा प्रर्दछ ।

कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– वडा नं १ देखि ७ सम्म १०, ११, १२ र २९ वडा क्षेत्र नं। २ मा पर्दछन् । यस क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ क प्रदेशमा पर्दछ भने भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११, १२ ‘ख’ प्रदेशमा पर्दछ ।

क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगरपालिका पर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् ।

दोस्रोचरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।