राजनीति

एमालेभित्र खैलाबैला, मंसिरको चुनावी रणनीति समेत प्रभावित हुने संकेत !

काठमाण्डौ । असोज २ गते सम्पन्न तेश्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलाई लिएर नेकपा एमालेभित्र गम्भीर विवाद पैदा भएको छ । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता नेपाल पक्षको केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचना गरे ।

उनीहरुले अध्यक्ष ओली र उनको मधेसलाई हेर्ने नजरले दुई नम्बर प्रदेशमा एमालेलाई ठूलै धक्का लागेको आरोप लगाए । एमालेलाई समग्र दुई नम्बर प्रदेशमा धक्का लागेको छँदैथ्यो, बरिष्ठ नेता नेपालको गृहजिल्ला रौतहटमा एमालेको पत्तासाफनै भएको छ । त्यतिमात्र होइन बरिष्ठ नेता नेपालको गृहनगर गौर नगरपालिकामा समेत एमालेले हारेको छ । त्यहाँ राजपाका उम्मेद्वारले बहुमत हासिल गरी विजय प्राप्त गरेका छन् । दुई नम्बर प्रदेशमा लागेको धक्काले एमालेको मधेसप्रति हेर्ने दृष्टिकोण बदल्नुपर्ने नेता नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको राय अघि आएको देखिन्छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले एमालेले लिएका राष्ट्रियताका अडानदेखि पार्टी निर्माणको अभियानसमेत ठिक भएको घोषणा गरिरहँदा बरिष्ठ नेता नेपालले उनको अधिकांश दाबीहरुको कडा आलोचना गरेका थिए । उनले पार्टीको नेतृत्व गर्ने अध्यक्ष ओलीले नै मधेसीहरुलाई चिढाउने मन्तव्यहरु दिने गरेकोले मधेसका जनताले एमालेलाई लखेटको दाबी गरेका थिए । बैठकमा मधेसको मतपरिणामलाई लिएर गम्भीर छलफल भएको एमाले केन्द्रीय कार्यालय निकट श्रोतले जनाएको छ । यसले एमाले अध्यक्ष ओलीको व्यक्तिगत चरित्र र पार्टी सञ्चालन गर्ने क्षमतामाथि नै प्रश्न उठेको आरोप नेपाल पक्षका नेताहरुले लगाएका थिए ।

प्रचण्डलाई साथ नदिनु गलत !
एमाले केन्द्रीय कमिटीको बैठकमा पछिल्ला वर्ष सरकारको नेतृत्व गर्दा भएका सत्ता तालमेल र त्यसले एमालेलाई कति फाइदा पुग्यो वा बेफाइदा भयो ? भन्ने प्रश्नको उत्तर समेत खोज्ने प्रयास भएको श्रोतको दाबी छ । बैठकमा एमाले बरिष्ठ नेता नेपालले अघिल्लो वर्ष सरकारबाट एमाले हट्नुमा माओवादीसँग एलायन्स तोड्नुलाई दोष दिएका छन् । उनले अध्यक्ष ओलीको माओवादीलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म एमालेलाई फाइदा नहुने बताएका थिए । पार्टीले पछिल्लो समयमा लिएको रणनीतिले एमाले असफल हुँदै गएको बताउँदै बरिष्ठ नेता नेपालले नेतृत्वको यही रवैया जारी रहे एमाले सकिने समेत उनले चेतावनी दिएका थिए ।

प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेद्वारको विषयमा असहमति !
बैठकमा बरिष्ठ नेता नेपाल पक्षधर केन्द्रीय सदस्यहरुले अहिलेनै प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेद्वार घोषणा गरेर जाँदा पार्टीलाई घाटा हुने बताएका छन् । उनीहरुले पार्टीले चुनाव अघिनै यसरी उम्मेद्वार घोषणा गरेर जाँदा विपक्षीहरुले षडयन्त्र गर्न सक्ने दाबी गर्दै त्यस्तो निर्णय नलिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेकपा एमालेले केही दिन अघिमात्रै प्रदेशसभा र संघीय संसदको चुनावका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेद्वारहरु तोकेर जाने निर्णय गरेको थियो । पार्टीभित्रै देखिएको यो गम्भीर मतभेदले एमालेको चुनावी रणनीति समेत प्रभावित हुने देखिएको छ ।