राजनीति

प्रधानमन्त्री देउवा अमेरिकाबाट नफर्किदै कांग्रेसले जारी गर्यो महत्वपूर्ण सर्कुलर, यस्तो बन्ने भो चुनावी रणनीति !

काठमाण्डौ । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक अब प्रदेशसभा र संघीय संसदको चुनावमा होमिएको छ । सबै राजनीतिक दलहरु प्रदेशसभा र संघीय संसदको चुनावमा होमिएका छन् । मुलुकका ठूला दलहरु नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रले आ–आफ्नो ढंगले चुनावी रणनीति तय गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसले आगामी असोज १७ गतेभित्र उम्मेद्वारहरुको नाम छनौट गरेर पठाउन ७५ वटै जिल्ला समितिलाई सर्कुलर जारी गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा रहे पनि सो पार्टीले चुनावी तयारीस्वरुप जिल्ला पार्टीहरुलाई उम्मेद्वाहरुको नाम पठाउन सर्कुलर जारी गरेको हो ।

कांग्रेसको यो कदमसँगै राजनीतिक दलहरु अब मंसिरको चुनावमा होमिएको प्रष्ट संकेत देखिएको छ । आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभा र संघीय संसदको चुनाव हुँदैछ ।

त्यस्तै, कांग्रेसले यो पटकदेखि पार्टी केन्द्रले आयोजना गर्दै आएको दशैं–तिहारको शुभकामना तथा चियापान कार्यक्रम प्रादेशिक स्तरमा पुर्याएको छ । अबदेखि दशैं–तिहारको अवसरमा हुने शुभकामना आदानप्रदान तथा चियापान समारोह मुलुकका ३ सय ३० वटा प्रादेशिक नर्वाचन क्षेत्रमा हुने कांग्रेसले जनाएको छ । यो पटक कांग्रेसले यी निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गर्दैछ ।

यद्यपि,निर्वाचन आयोगले मंसिरको चुनावलाई लक्षित गरेर दलहरुलाई चियापान समारोहको आयोजना नगर्न आह्वान गरेको छ । तर दलहरुले निर्वाचन आचारसंहितालाई दख्खल नपर्नेगरी कार्यक्रमहरु आयोजना गर्ने देखिन्छ ।

नेपाली कांग्रेसभित्र पछिल्ला दिन अर्को एउटा महत्वपूर्ण बहस समेत उठेको छ । चुनावअघि नै सातवटै प्रदेशहरुको मुख्यमन्त्रीहरु तोकेर चुनावमा जाने संकेत उसले दिएको छ । यो निर्णयलाई नेपाली कांग्रेसले रणनीतिक महत्वका हिसाबले हेरेको छ ।

पार्टीले तोकेका मुख्यमन्त्रीका उम्मेद्वारहरुको प्रभावका कारण जनमत आफ्नो पक्षमा पार्ने कांग्रेसको भित्री योजना देखिन्छ । यद्यपि, यो विषयमा एमालेले पनि निर्णय गरिसकेको हुनाले दुई ठुला पार्टीबीच टक्कर देखिने निश्चित छ । उता, सरकारले पनि दशैं तिहारकै बीचमा सातवटै प्रदेशका सदरमुकामहरु तोक्ने तयारी गरिरहेको छ ।

सम्भवतः राजनीतिक दलहरुले सरकारले प्रादेशिक राजधानी तोकेसँगै मुख्यमन्त्रीका उम्मेद्वारहरु तोक्ने सम्भावना देखिएको छ । नेपाली कांग्रेसभित्र भने १ देखि ७ नम्बर प्रदेशसम्मै युवा तथा प्रभावशाली नेताहरुले मुख्यमन्त्री बनाएर जानुपर्ने विषयमा बहस चलिरहेको छ ।

त्यस्तै कांग्रेसले चुनावी तालमेललाई समेत खुल्ला राख्ने देखिएको छ । यसअघि माओवादी केन्द्रसँग तालमेल गरेको उक्त पार्टीले अहिले भने प्रस्ट रुपमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय नगरेपनि उसले तालमेललाई खुल्ला राख्ने संकेत देखाएको कांग्रेस निकट नेताहरु बताउँछन् । यसरी नेपाली कांग्रेसले आफ्नो चुनावी रणनीति तय गरिरहेको प्रस्ट हुन्छ ।