पु.समाचार

काठमाडौँ काँग्रेसबाट बाढीपीडितलाई साढे पाँच लाख सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताअनुरुप चल्नु पर्ने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा काठमाण्डौमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा नेता सिंहले पार्टी विधिसम्मत र नियमसम्मत तरिकाले चल्न नसकेको भन्दै गुनासो गरे।

पार्टीलाई सुधार गर्नका लागि व्यक्ति भन्दा पनि पार्टीको मूल्य मान्यता र आदर्शलाई अगाडि बढाउनु जरुरी रहेको उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले यो मेरो वा यो तेरो मान्छे भन्दा पनि काँग्रेसको मान्छे बनेर निर्वाचनमा गए मात्र काँग्रेसले जित हासिल गर्नसक्ने बताए ।

निर्वाचनमा पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्न र जिताउन आम नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले काँग्रेसले गरेका राम्रा काम आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा तथा क्षेत्रले राम्रो उम्मेदवारलाई छनोट गरी जिल्ला शाखामा पठाउन सबैलाई आग्रह गरे

कार्यक्रममा तराईमा आएको बाढीका पीडितलाई सहयोग गर्नका लागि काठमाडौँ काँग्रेसले उठाएको रु पाँच लाख ५५ हजार ५५५ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।