सूचना प्रविधि

लमजुगङको एउटा गाउँ यसरी भयो सञ्चारविहीन

बेसीशहर (लमजुङ) । पर्यटकीय गाउँ सिउरुङमा सञ्चार सुविधा नहुँदा समस्या भएको छ । नेपाल टेलिकमलगायत अन्य सञ्चारको सुविधा नहुँदा स्थानीय प्रभावित भएका हुन् ।

दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गाउँमा सरकारले सञ्चार सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । जिल्लाको दूरसञ्चार कार्यालयमार्फत उपभोक्ताले पटकपटक टावर राख्न माग गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी अमरबहादुर गुरुङले बताए ।

“दूरसञ्चार कार्यालयमा पटक–पटक धायौँ”, उनले भने, “अहिलेसम्म कहीँ कतैबाट सुनुवाइ भएको छैन ।” विगत चार वर्षदेखि स्थानीयवासीले सञ्चार सुविधाको माग गर्दै आएका छन् । सिउरुङमा कहिलेकाहीँ स्काई टेलिफोन सञ्चालन हुन्छ । तर मौसममा खराबी आउने बित्तिकै सो सेवा समेत बन्द हुन्छ ।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमका ३४ वटा टावर छन् । बाहुनडाँडाको भिरपुस्तुनमा रहेको नेपाल टेलिकमको टावरमा जिएसएम सेवा जडान गरी सिउरुङका नागरिकलाई सेवा दिन लागिएको दूरसञ्चार लमजुङका प्रमुख सुवास न्यौपानेले बताए । जिल्लामा सशस्त्र द्वन्द्वको अवधिमा दुईवटा टावर अवरुद्ध भएका थिए । बन्द भएका टावर पनि पुनः निर्माण गरी हाल सञ्चालनमा रहेको न्यौपानेले बताए ।

सो बाहेक जिल्लामा एनसेल, हेलो नेपाल मोबाइलका पनि टावर रहेका छन् । तर लामो समयदेखि भुलभुले भुष्मेको एनसेल टावरले काम नगर्दा सिउरुङबासी सञ्चार सुविधाबाट वञ्चित भएका हुन् ।