राजनीति

बेल्ही चपेना गाउँपालिकामा मेयर र उपमेयर दुुबै भारी मतका साथ कांग्रेस विजयी

राजविराज । सप्तरीमा जारी पछिल्लो मतगणना परिणामानुसार बेल्ही चपेना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
सो गाउँपालिकाका प्रमुख परमानन्द यादव तीन हजार ५४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ओमप्रकाश मण्डलले दुई हजार ४२३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै उषादेवी मण्डल तीन हजार ४५५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रिकादेवी यादवले दुई हजार १४७ मत प्राप्त गरे । यसैबीच सप्तरीका १७ स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
राजविराज –१५ मा मतदान सम्पन्न

राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्ण रुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

प्रहरीको बाक्लो उपस्थितिमा दुई मतदान केन्द्रमा एक हजार २९२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताए । त्यहाँ एक हजार ६३९ जना मतदाता छन् ।

मतदान केन्द्रका मतपेटिका निर्वाचन सकिएलगत्तै सदरमुकाम राजविराजस्थित खेलकुद विकास कार्यालयमा ल्याइसकिएको छ ।

उक्त वडामा गत भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगन भएकामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

यादवको मृत्युपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजविराज – १५ मा राजपाका तर्फबाट वडाध्यक्षमा जसकरण मण्डलले यही असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

यसैबीच सर्वदलीय बैठक बसेर अहिले रातिदेखि राजविराज नगरपालिकाको मतगणना शुरु गरिएको छ ।