पर्यटन/संस्कृति

थारू बस्तीमा सखिया नृत्यको रौनकता

– राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत सखिया नृत्यको रौनकता अहिले कञ्चनपुरका थारू बस्ती छाएको छ ।

श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने यो नृत्यलाई थारू समुदायले हिजोआज गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी आयोजना गर्ने गरिन्छ ।

पहिला पहिला कम्तीमा एक महिनासम्म आयोजना गरिँदै आएको सखिया नृत्यलाई हाल छोट्याएर दशदेखि पन्ध दिनसम्म सिमित राखिएकोे पिपलाडीका थारू वडघर नरेन्द्रप्रसाद चौधरीले बताए ।

“थारू गाउँका भलादमी, बडघर, गुरुवा, केसौको बैठक बसेर आजदेखि सखिया नृत्यकोे व्यवस्थापनको चाँजोपाँजो मिलाएका छौँ”, उनले भने । गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गरिएको उनले बताए ।

सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच–बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बडघर चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ ।

नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीले नृत्य पस्कने गर्दछन् । जसलाई थारू भाषामा खोट (पैँया) भन्ने गरिएको थारू राजनीतिकर्मी दानसिंह दहितले बताए । “पैँया २२ प्रकारका हुने गरेको भए पनि हाल मदारीले आफैँ सृजना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ”, उनले भने। यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नुपर्ने हुन्छ ।

यस पौराणिक मनमोहित गर्ने नृत्यलाई हेर्नेको समेत थारू गाउँमा निकै भीड लाग्ने गरेको छ । दशैँको सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगेर्ना भन्ने गरिएको उल्लेख गर्दै थारू संस्कृतिका जानकार परदेशी चौधरीले भने, “यस दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलने छ ।”

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रङ्गबिरङ्गी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो पख् नाचिने सखिया नृत्यमा थारू युवतीले कृष्णको लीलालाई आफ्नै भाषमा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दशैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर–घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्दछन् ।

बडघरसँग टीका थाप्न जाँदासमेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा छ । दशैँपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो । जसलाई थारू भाषमा ‘ख्यारा’ खाने भन्ने गरिएको उनले बताए ।

यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने चौधरीले बताए धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास थारू समुदायमा छ । यसलाई अर्को शब्दमा थारू समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जागेपछि प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा छ ।

थारू समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारू सामाजिक कार्यकर्ता रेवन चौधरी बताउछन् ।

उनले भने, “हराउँदै गएको संस्कृति जोगाउनका युवा पिँढी अगाडि सर्न थालेपछि थारू समुदायको पहिचान जोगिएको छ ।” सामूहिक रुपमा सबैका घर–घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।