राजनीति

कांग्रेसभित्र सुरु भयो एक्कासि नयाँ बहस, आधा दर्जन नेताहरुको यसरी चम्किदैछ भाग्य !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र स्थानीय तहको निर्वाचन सकिएसँगै नयाँ बहस सुरु भएको छ । स्थानीय निकायको पहिलो, दोश्रो र तेश्रो चरणको निर्वाचन सकिएसँगै कांग्रेसले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेशसभा लक्षित बहस सुरु भएको हो । मंसिरमा हुने चुनावमा पार्टीले तत्काल प्रदेशका मुख्यमन्त्री हुने नेताहरुको नाम समेत घोषणा गरेर जानुपर्ने अनौपचारिक बहस सुरु भएको हो ।

यो बहससँगै अब नेपाली कांग्रेसभित्र सातवटै प्रदेशमा मुख्यमन्त्री हुने नेताहरु को को होलान् ? भन्ने प्रश्न समेत अघि आएको छ । श्रोतका अनुसार कांग्रेसका अधिकांश युवा नेताहरुले मुख्यमन्त्रीको दाबी गर्न सुरु गरेका छन् ।

कांग्रेसले आधिकारिक रुपमा यो विषयमा आफ्नो धारणा बाहिर सार्वजनिक नगरे पनि केही दिनअघि एमालेले समेत प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेद्वारहरु घोषणा गरेर चुनावमा जाने निर्णय गरेपछि कांग्रेसभित्र समेत यो बहस सुरु भएको हो । विशेषगरी कांग्रेसभित्र यो विषयलाई युवा नेताहरुले अघि सारेका छन् । यसबारेमा गम्भीर बहस हुने संकेत देखिएको छ ।

यस्ता छन् कांग्रेसका सम्भावित मुख्यमन्त्रीहरु
वास्तवमा दोश्रो संविधानसभा निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेसले स्थानीय चुनावमा केही धक्का खाएपनि आगामी मंसिरको निर्वाचनमा भने पहिलो नै हुने तयारी गरिरहेको छ ।

कांग्रेसले घनिभूत तयारी गरे उसँग टक्कर गरिरहेको एमालेलाई साइजमा ल्याउन सकिने र प्रदेशसभा निर्वाचनमा समेत अघि आउन सकिने कांग्रेसको आंकलन रहेको छ । त्यसैले मतपरिणाम आफ्नो पक्षमा पार्न पनि कांग्रेसले युवा नेताहरुलाई मुख्यमन्त्रीहरुको उम्मेद्वार बनाउने सम्भावना देखिएको छ ।

नेपाली कांग्रेसनिकट श्रोतका अनुसार एकदेखि सात प्रदेशसम्मनै युवा नेताहरुको बर्चस्व र मुख्यमन्त्रीमा दाबी हुने देखिन्छ । एक नम्बर प्रदेशमा कांग्रेसका प्रभावशाली र स्थापित युवा नेता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीको उम्मेद्वार पाउने सम्भावना छ । उनी पार्टीका केन्द्रीय सदस्य हुन् । त्यस्तै दुई नम्बर प्रदेशमा महेन्द्र यादव, फर्मुल्लाह मन्सुर र आनन्द ढुंगाना लगायतका नेताहरु मुख्यमन्त्रीको उम्मेद्वार हुने सम्भावना रहेको देखिन्छ ।

त्यस्तै, ३ नम्बर प्रदेशमा मुलुककै प्रभावशाली युवा नेताका रुपमा देखिएका अर्का कांग्रेस नेता गगन थापा मुख्यमन्त्रीको उम्मेद्वार हुने सम्भावना देखिएको छ ।

मुख्यमन्त्रीको उम्मेद्वारका विषयमा नेता थापाले घुमाउरो ढंगले दाबी गरिरहनुभएको समेत श्रोतका दाबी छ । पूर्व स्वास्थ्मन्त्री समेत रहेका थापालाई तीन नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन पार्टीभित्रै पनि पहल हुनसक्ने बताइन्छ । किनभने उनी कांग्रेसका युवा नेता मात्र होइन, मुलुक निर्माणका लागि नयाँ भिजन दिनसक्ने नेता समेत हुन् । उनी यसअघि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद समेत हुन् ।

त्यस्तै चार नम्बर प्रदेशका कांग्रेसका प्रभावशाली अर्का युवा नेता धनराज गुरुङ, ध्रुव वाग्ले,शंकर भण्डारी लगायत मुख्यमन्त्रीको उम्मेद्वार बन्ने सम्भावना छ भने ५ नम्बर प्रदेशमा बालकृष्ण खाँडको बारेमा चर्चा अघि आएको छ ।

त्यस्तै प्रदेश नम्बर ६ मा नेता जीवनबहादुर शाहीको बारेमा मुख्यमन्त्री हुने चर्चा चुलिएको छ । प्रदेश नम्बर ७ मा रमेश लेखक लगायतका नेताहरुको समेत नाम अघि आएको छ तर उनी केन्द्रीय राजनीतिमा स्थापित नेता भएका कारण पनि उनको ठाउँमा अन्य स्थानीय नेताहरुले दाबी गर्ने सम्भावना रहेको देखिन्छ । सात नम्बर प्रदेशमा हाल भौतिक पूर्वाधारमन्त्री रहेका वीरबहादुर बलायर अघि आउने सम्भावना रहेको समेत श्रोतले जनाएको छ ।

एमालेलाई साइजमा ल्याउने कसरत !
अघिल्ला पहिलो र दोश्रो स्थानीय तहको निर्वाचन मतपरिणाम हेर्दा ६ वटै प्रदशेमा नेपाली कांग्रेस र एमालेको टक्कर देखिएको छ । एमालेले प्रायःसबै स्थानमा कांग्रेसलाई जितेको छ ।

त्यसैले पहिलो र दोश्रो चरणको निर्वाचनमा कांग्रेसको साइज दोश्रोमा झरेको थियो । दुई नम्बर प्रदेशमा नेपाली कांग्रेस अघि आउने देखिएपनि आगामी मंसिरमा हुने निर्वाचनमा मुलुकभरको निर्वाचनमा कांग्रेसलाई एमालेले खुल्ला टक्कर निश्चित छ, किनभने दुई नम्बर प्रदेशको निर्वाचन परिणामले मात्र कांग्रेसलाई साथ दिदैन ।

त्यसैले अबका दुई महिना प्रदेशसभामा मुख्यमन्त्रीहरुलाई विजयी गराउन पनि कांग्रेसले राम्रो मिहेनत गर्नुपर्छ । कांग्रेसले राम्रो मिहेनत गरेमा एमालेलाई साइजमा ल्याउन सकिन्छ ।

त्यतिमात्रै होइन पछिल्ला मतपरिणाम हेर्दा कांग्रेसले माओवादी केन्द्रलाई पनि आफ्नै पक्षमा राख्न सक्नुपर्छ, किनभने प्रदेश र संघीय संसदमा समेत तेश्रो शक्तिको रुपमा रहेको सो पार्टी निर्णायक शक्ति हुँदैछ । त्यसैले यसका लागि कांग्रेसले राम्रो मिहेनत गरे सातै प्रदेशका मुख्यमन्त्रीहरुको पद आफ्नो पक्षमा पार्नेमा दुईमत छैन ।