खेलकुद

पहिलो पटक नेपालले भुटानसँग यसरी हार बेहोर्नुपर्यो

काठमाडौं । नेपाल इतिहासमै पहिलोपटक भुटानसँग पराजित भएको छ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।

खेलको ८७ औँ मिनेटमा पेनाल्टीमार्फत भुटानले गरेको गोल नै निर्णायक भयो । नेपालका खेलाडीले  डि–बक्सभित्र हेन्ड गरेपछि भुटानले पाएको पेनाल्टीमा ओर्जिन वाङचुकले गोल गरेका थिए । खेलमा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको यो नै पहिलो पटक हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स छन् । नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै आउँदो ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ । सबैले एक अर्कासित खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबिच फाइनल खेल हुने छ ।

नेपाली राष्ट्रिय टोलीले भुटानसँग अहिलेसम्म खेलेका सबै १२ खेल जितेको थियो । पछिल्लो पल्ट भुटानले उमेर तथा राष्ट्रिय स्तरको फुटबलमा सुधार गर्दै आएको छ । तर नेपालको स्तर भने जहाँको त्यहिँ हुँदा बुधबार हार व्यहोर्नु परेको छ । उमेर समूहमा बुधबारको हारले आउँदा दिनमा राष्ट्रिय स्तरमा पनि नेपाललाई भुटानले कडा टक्कर दिने अनुमान गर्न सकिन्छ ।