पु.समाचार

वीरगञ्ज महानगरमा कांग्रेसले पहिलो खाता खोल्यो

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा नेपाली काँग्रेसले पहिलो खाता खोलेको छ । उक्त महानगरपालिका वडा नम्बर ३० को वडाध्यक्षमा काँग्रेसले पहिलो खाता खोलेको हो ।

वडाध्यक्षमा काँग्रेसका उम्मेदवार अली हुसेन देवान विजयी भएका छन् । एमालेका उम्मेदवार अमानत अन्सारीलाइ चार मतको झिनो अन्तरले पराजित गर्दै देवान विजयी भएका हुन् ।

वडा अध्यक्षमा निर्वाचित काँग्रेसका देवानले चार सय ५० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अन्सारीले चार सय ४६ मत प्राप्त गरेका छन् । यस्तै वडा अध्यक्षममा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्रम्हदेव यादवले भने तीन सय २५ मत मात्रै प्राप्त गरे ।

दुइ हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा एक हजार सात सय २४ मत मात्र खसेको थियो ।

यता एमालेका वडा अध्यक्षका उम्मेदवार अन्सारीले भने मतगणनामा खटिएका कर्मचारीहरुले गोलमाल गरि काँग्रेसका उम्मेदवार देवानलाइ जिताएको आरोप लगाएका छन् ।