राजनीति

हरेक तह र तप्कामा ब्याबहारिक रुपमा नै ‘समावेशी र समानुपातिक’ लागू हुनुपर्ने : नेता पौडेल

ललितपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागू गरिनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति संघ केन्द्रीय समितिद्वारा आज आयोजित ‘संविधानमा आदिवासी जनजातिको हकअधिकार र नेपाली काँग्रेसमा जनजातिको भविष्य’ विषयको गोष्ठीमा उनले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त काँग्रेसले मात्र अवलम्बन गरेको बताए ।

देशमा ठूल्ठूला परिवर्तन ल्याउन जनजातिको ठूलो भूमिका रहेको पनि उनले बताए ।

मुलुकलाई आर्थिकरुपले सबल बनाउन कृषि क्रान्ति गर्न जरुरी रहेको नेता पौडेलको भनाइ थियो । कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनले नेपालीको आयआर्जनमा उल्लेख्य सुधार हुने विश्वास पनि उनले व्यक्त गरे।

नेपालीकाँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय र पार्टीको सबै तह तथा तप्कामा कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गरे ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले राजनीतिक दल र राज्यले समावेशीताको सिद्धान्तलाई अक्षरशः पालना गरे आदिवासी जनजातिको उत्थान हुने बताए ।