पु.समाचार

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो ।

नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।

घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ ।

मंगलबार स्थानीयले इलाका वन कार्यालय, इलाका प्रहरी, इलाका प्रशासनलाई जानकारी गराएपछि जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालय जोगबुढाबाट चितुवाको उद्धारमा खटिएको टोलीको सहयोगमा पासोमा फसेको चितुवालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी गराए ।

चितुवालाई मंगलबार नै गाडीमा तारजालीभित्र सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्नका लागि लगिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए ।

थोरै संख्यामा रहेको लोपोन्मुख जनावर चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लालढुंगा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो ।

कृषकले जंगली जनावरबाट खेतबारी जोगाउनका लागि थापेको पासोमा सोमबार राति चितुवा परेको स्थानीयको भनाइ रहेको छ ।

मंगलबार बिहान स्थानीय बासिन्दाले पासोमा चितुवा परेको थाहा पाएपछि इलाका वन कार्यालय र प्रहरी कार्यालय तथा इलाका प्रशासन कार्यालय, जोगबुढालाई जानकारी गराएका हुन् ।