आर्थिक

माओबादी कालमा विस्थापित बैंक अझै पुनःस्थापना भएनन्

– विनोदसिंह विष्ट

बैतडी । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखाहरु अझै पुनःस्थापना हुन सकेका छैनन् ।

शहरमा टोलैपिच्छे बैंक खुले पनि बैतडीका व्यापारिक केन्द्रका बासिन्दाले बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा स्थानीयवासी हजारौँ खर्चेर सदरमुकाम जान बाध्य छन् । बैंकको अभावमा सर्वसाधारणसँगै सरकारी, गैरसरकारी, विद्यालयलगायतका निकायलाई समस्या हुँदै आएको छ ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको कूल दुई लाख ५० हजार ८९८ जनसंख्याको आधासम्म पनि बैंकिङ सेवा पुग्न सकेको छैन ।

बैतडीको तल्लोस्वराड क्षेत्रको मेलौली, पुरचौडी क्षेत्रकोे हाट र डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरमा बैंक पुनःस्थापना नभएका हुन् ।

बैतडीको साविकका गोकुलेश्वर, डिलासैनी, रुद्रेश्वर, सित्तड, रिम गाविस र दार्चुलाको गोकुलेश्वर, शिखर, रिठाचौपाता लगायतका गरी १२ गाविसको केन्द्र बैतडीको गोकुलेश्वरमा, यस्तै हाट, कुवाकोट, महादेवस्थान, मल्लादेही, तल्लादेही विजयपुर, कोटिला, भूमिराज, भटना र न्वादेउ गरी १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र रहेको पुरचौडी हाटमा र तल्लोस्वराडका साविकका मेलौली, उदयदेव, गिरेगाडा, पञ्चेश्वर, महाकाली, आमचौरा, शमौली, कुलाउ, विशालपुरलगायतका १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन् ।

विसं २०५८ अघि गोकुलेश्वर र पुरचौडी हाटमा कृषि विकास र नेपाल बैंक र मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए । पहिलो संविधानसभाको निर्वाचनसँगै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ । राजनीतिक दलहरुले पुनःस्थापनाको नारा दिएर दुईपटक चुनाव जिते पनि कसैले चासो नदिएको स्थानीयवासीको आरोप छ । “पटक पटक बैंक पुनःस्थापनाको माग जिल्ला र केन्द्रसम्म पु¥याइसक्यौँ,” पुरचौडी नगरपालिका हाटका लालबहादुर भण्डारीले भने यो – “गाउँ आउने नेताहरुले सधैँ पुनःस्थापनाको आश्वासन दिए पनि बैंक आउने सुरसार छैन ।”

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाकास्तरका अन्य कार्यालय रहेका छन् ।

बैतडीको दुर्गम क्षेत्र मानिएको पुरचौडी हाटमा गत वर्षको असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय शुरु गरिएको हो ।
सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएको स्थानीय बासिन्दाले बताएका छन् । हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन् । पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको शाखा रहेका छन् । गाउँ नजिकमा बैंक नआउँदा टाढा जाने बाध्यताले आर्थिक भारसँगै समय बढी खर्च हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । “सदरमुकाम र पाटन जाँदा एकै दिनमा आउजाउ गर्न सकिने अवस्था हुँदैन,” स्थानीय तथा मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले भने, “बचत र झिक्ने रकमभन्दा खर्च बढी हुने गर्छ ।”

दार्चुला र बैतडीको सीमा बजार बैतडीको गोकुलेश्वरमा पनि बैंक पुनःस्थापना भएको छैन ।

द्वन्द्वका बेला असुरक्षाका कारण दर्शाएर सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकहरु पुनःस्थापना हुन सके ग्रामीण क्षेत्रका बासिन्दालाई सहज हुने निश्चित छ ।

सरकार गत साउनमा बैतडीका छ वटा स्थानीय तहमा नयाँ बैंकका शाखा खोल्ने भने पनि हालसम्म पनि खुल्न सकेका छैनन् ।