राजनीति

नपाली काँग्रेसले गणेशमान सिंहलाई यसरी सम्झियो

पोखरा : नेपाली काँग्रेसका सर्वोच्च नेता स्व गणेशमान सिंहको २० औं स्मृति दिवसका अवसरमा सोमबार साँझ पोखरामा दीप प्रज्वलन एवं स्व. सिंहको शालिकमा माल्यार्पण गरियो ।

नेपाली काँग्रेस कास्कीको आयोजनामा स्व सिंहको स्मृतिमा पोखरा लेखनाथ महानगरपालिका नालाकोमुखस्थित गणेशमानको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको हो ।

उक्त समारोहमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व सभापति सोभियतबहादुर अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीलगायतले शालिकमा माल्यार्पण र मैनबत्ती प्रज्वलन गरे।

कार्यक्रममा वक्ताले नेपालको प्रजातन्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहले गरेको योगदान अतुलनीय भएकोमा जोड दिएका छन् ।

प्रत्येक राजनीतिज्ञका लागि स्व गणेशमानले देखाएको अदम्य साहस र त्याग अनुकरणीय भएको उल्लेख गर्दै वक्ताले उनका विचार र आदर्शलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे ।

सो कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।