राजनीति

दुई नम्बर प्रदेशको मतपरिणाम आउन सुरु, ह्वात्तै बढ्यो कांग्रेसको अग्रता !

काठमाण्डौ । दुई नम्बर प्रदेशमा सोमबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने उसलाई नेकपा एमालेले पछ्याइरहेको छ ।

त्यस्तै माओवादी केन्द्र तेश्रो स्थानमा दौडिरहेको छ भने राजपा र अन्य मधेसवादी दलहरुले पनि केही स्थानमा अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार अहिले १ सय ३६ स्थानमध्ये ७० स्थानको मतगणना भैरहेको छ ।

तीमध्ये ६० वटा स्थानीय तहको मतगणना कार्य सुरु हुन थालेको आयोगले जनाएको छ ।  केही स्थानमा आन्तारिक तयारी र विवादका कारण मतगणना कार्य सुरु हुन सकेको छैन ।

त्यसमध्ये नेपाली कांग्रेसले करिब २० स्थानभन्दा बढीमा अग्रता लिइरहेको छ भने एमालेले पनि सोही हाराहारीमा अग्रता लिइरहेको छ ।
माओवादी केन्द्र एमालेभन्दा पछि पछ्याइरहेको छ ।

यद्यपि, केही स्थानका वडाहरुमा माओवादी केन्द्र विजयी भएको खबर समेत आइरहेका छन् ।  त्यस्तै, राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिइरहेका छन् ।

कुन ठाउँमा कुन पार्टीको अग्रता ?
महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । त्यस्तै सिरहाको कल्याणपुरमा पनि कांग्रेसले अग्रता लिइरहेको छ भने बाराको बारागढी गाउँपालिका, सप्तरीको खड्ग नगरापालिका,बाराको फेटा गाउँपालिका लगायतका स्थानमा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

त्यस्तै,सिराहाको कर्जन्हा, रौतहटको गौर, सप्तरीको सप्तकोसी, धनुषाको मिथिला–विहारी लगायतका स्थानमा एमालेले अग्रता लिइरहेको छ ।
उता सिरहाको गोलबजार,मिर्चैया, धनुषाको गणेशमान–चारनाथ नगरपालिका लगायतका स्थानमा माओवादीको अग्रता रहेको छ । त्यस्तै महोत्तरीको मनरा सिस्वा नगरपालिका, सप्तरीको तिलाठी लगायतका स्थानमा राजपाले अग्रता लिइरहेको छ ।

त्यस्तै सिरहाको लक्ष्मीपुर लगायतका स्थानमा फोरमले अग्रता लिइरहेको छ । यद्यपि,केही वडाहरुमा माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी भएको समाचार आइरहेको छ ।