शिक्षा

रु एक करोडमा रत्नराज्यलक्ष्मी मावि भवन उद्घाटित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनःनिर्माण गरिएकोे रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेकी छन् ।
नेपाली काँग्रेसका नेता एवं सांसद प्रकाशमान सिंह, राधेश्याम अधिकारीलगायत करिब चार सय दाताबाट संकलित रु एक करोड ११ लाखबाट आठकोठे भवन निर्माण गरिएको हो । सो विद्यालयमा दुई हजार १०० विद्यार्थी अध्ययनरत छन् ।
विसं २०६६ देखि अंग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएको उक्त विद्यालयमा यस पटकको एसइइ परीक्षामा ४० विद्यार्थी ए प्लसमा उत्तीर्ण भएका थिए । सांसद नवराज शर्मा, अफिलाल ओखेडालगायत सांसदका छ छोराछोरी उक्त विद्यालयमा अध्ययनरत रहेको जनाइएको छ ।

उक्त विद्यालयमा सरकारीस्तरबाट उपलब्ध नयाँ भवनको आजै शिलान्यास गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्रथम चरणमा नौ तथा दोस्रो चरणमा छकोठे भवनको निर्माण गरिने छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक शैक्षिक संस्थामा पोषण र स्वास्थ्य शिक्षाका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले मुुलुकको सामाजिक–आर्थिक रुपान्तरण गरी समृद्ध नेपाल निर्माणको अभिभार पूरा गर्न चाहिने दक्ष जनशक्ति उत्पादनका लागि सबै शैक्षिक संस्थालाई कटिबद्ध भएर लाग्न आग्रह गरिन् ।

कार्यक्रममा नेता सिंह र अधिकारीले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन् ।

विद्यालयका प्रअ डा गीता शिवाकोटी खरेलले भूकम्पका कारण दयनीय सो विद्यालयको पुनःनिर्माणमा बानेश्वरका बासिन्दा, विभिन्न संघसंस्था, सांसदलगायतको सहयोग प्राप्त भएको बताईन् । उनले उक्त विद्यालयमा आगामी दिनमा विज्ञान संकाय पनि सञ्चालन र विभिन्न जिल्लाबाट आएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय पुनःनिर्माणमा सघाउने २४ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।