आर्थिक

कानून पालना नगर्ने ३०२ लाई राजश्वले यसरी गर्यो कारबाही

काठमाडौँ । आन्तरिक राजस्व विभागले गत भदौ २७ गतेदेखि शुरु गरेको बजार अनुगमनका क्रममा कर कानून पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा कारबाही गरेको छ ।

गएको भदौ ३१ गतेसम्म (चार दिनमा) २३४ टोलीले एक हजार ९५१ करदाताको अनुगमन गरी उनीहरुलाई कारोबारस्थलमै कानूनी कारबाही गरिएको विभागले जनाएको छ ।

अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरण पेश नगर्ने, खाता अद्यावधिक नगरेका करदातालाई प्रचलित कानूनअनुसार कारबाही गरेको छ ।

अनुगमनका क्रममा व्यवसायीले व्यवसाय दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलबिजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको पाइएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारबाहीमा परेका र शंकास्पद देखिएका करदातालाई अनुसन्धानका लागि खरिद बिक्री खाता नियन्त्रणमा लिई कार्यालयमा उपस्थित हुन पत्राचारसमेत गरेको छ ।