उर्जा

सात वर्षको प्रयासपछि बिममा बिजुली बल्यो

बेनी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा सात वर्षको प्रयासपछि बल्ल बिजुली बलेको छ ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीयवासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि नियमित विद्युत् आपूर्ति गरिएको वडाध्यक्ष रेशम जुग्जाली (सुविन)ले जानकारी दिए । बिममा २०६७ सालमा विद्युतीकरणका लागि पोल गाड्नेलगायतका काम गरिएको थियो ।

वडाध्यक्ष जुग्जालीका अनुसार साविकको बिम गाविसको ६ र ७ नं वडाका सबै घरधुरीमा र १, २, ३, ४ र ५ नं वडाका केही भागमा विद्युतीकरण गरिएको छ । विद्युतीकरण भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १८५ घरधुरी लाभान्वित भएका छन् । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर रु सात हजारका दरले रु १२ लाख ९५ हजार संकलन गरेको वडाध्यक्ष जुग्जालीले बताए ।

प्राधिकरणले मुख्य प्रसारण लाइनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आवमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाइनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाइरिङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।
स्थानीयवासी तथा युके, हङ्कङलगायतका देशमा रहेका बिमवासीको सक्रियतामा गाउँमा लघु जलविद्युत् परियोजनाबाट विद्युत्को प्रयोग गरिएको थियो ।

यसैबीच छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ । धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङवासी अझै पनि लघु जलविद्युत्, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन् ।