उर्जा

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर स्थापना

पोखरा । कर्मचारी सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरेको छ । सञ्चयकर्ताको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको कोषको ५६ औँं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा शाखा प्रबन्धक दिलीप पौडेलले सो कुराको जानकारी दिएका छन् ।

उहाँकाअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताको सहभागिता गराइएको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रवद्र्धित तीन परियाजनामा पनि शेयर प्रदान गर्ने प्रक्रियामा रहेको छ ।

पाँच लाख ५० हजार सञ्चयकर्ता रहेको कोषले सञ्चयकर्ताको अवकाशपछि पनि छ वर्षसम्म सञ्चित रकममा ब्याज दिने तथा निजहरुको नाममा जम्मा हुन आएको रकममा वार्षिक ब्याजसमेत थप गरी एकमुष्ठ भुक्तानी दिने बताइएको छ ।

सञ्चयकर्तालाई घर निर्माण गर्न वा घर खरिद गर्न अधिकतम् १५ वर्षको तलब वा बढीमा रु एक करोडसम्म घर सापटी, स्वदेशका लागि अधिकतम रु १० लाख र विदेशका लागि रु २० लाख, एमबीबीएस/एमडीको लागि रु २५ लाखसम्म शैक्षिक ऋृण दिने व्यवस्था भएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कोषको पुँजीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गरी कोषले सञ्चयकर्तालाई अधिकतम लाभ दिनुपर्नेमा जोड दिए ।

समारोहमा आधिकारिक ट्रेड युनियन कास्की जिल्लाका अध्यक्ष भरतप्रसाद भुषाल, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक अच्युत ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, शाखा अधिकृत रामप्रसाद अधिकारी र लोकेन्द्र पौडेलले वार्षिकोत्सवको बारेमा प्रकाश पारेका थिए ।