राजनीति

अबको सरकार कसको नेतृत्वमा बन्ला ? एमाले हतारिएको संकेत, के देउवाले सजिलै बाटो छोडिदिएलान ?

काठमाण्डौ । मुलुकको नेतृत्व यसबेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरिरहेका छन् । करिब एक वर्षअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई संसदमा अल्पमतमा पारेर सरकारको नेतृत्व गरेलगत्तै एमालेमा एउटा खालको छट्पटाहट भैरहेको देखिन्छ ।

केही वर्षअघि ठुला दलहरुबीच भएको पालैपालो सरकार चलाउने भन्ने आन्तारिक सहमतिमा ब्रेक लाग्न खोेजेपनि बीचमा नेपाली कांग्रेस र माओवादी गठबन्धनले त्यसलाई तोडिदिए । मुलुकमा बहुमतीय प्रक्रियाबाट सरकार निर्माणको चरणमा प्रवेश गर्यो । त्यसैको परिणाम अहिले कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री रहेका छन्, जो संसदबाट बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्न पुगे ।

वास्तवमा नेकपा एमाले यसअघि सदाबहार रुपमा सरकारमा रहँदै आएको पार्टी हो, तर पछिल्ला वर्ष उ संसदमा प्रतिपक्षी दलको भूमिकामा रहेको छ । उसले कांग्रेस–माओवादी गठबन्धन सरकारलाई कर्नरमा पार्न खोज्ने थुप्रै प्रयत्नहरु त गर्यो खासै सफलता पाउन सकेको छैन तर पहिलो र दोश्रो स्थानीय निर्वाचनमा मुलुककै सबैभन्दा ठूलो पार्टी बनेपछि उसले बेला बेलामा सरकारको नेतृत्व अब एमालेले लिनुपर्छ भन्ने संकेतहरु दिँदै आइरहेको छ । यद्यपि, उसले संघीय संसद र प्रदेशसभाको निर्वाचनपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहेको छ, तर प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि मंसिरमा चुनावको मिति नतोकेको भए एमालेले त्यसअघिनै सरकारको नेतृत्व गर्ने नारा अघि सारिसक्ने श्रोतको दाबी छ ।

यसबाट के पुष्टि हुन्छ भने एमाले सरकारमा जान हतारिरहेको छ । यसको पुष्टि कसरी पनि हुन्छ भने केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले आफ्नो सरकार बनेलगत्तै भर्खरै राजीनामा दिएका डिआइजी नवराज सिलवाललाई राजनीतिक भूमिकामा सरकारमै पठाएर देखाइदिने चेतावनी दिएका छन् । वास्तवमा एमालेले तत्काल सरकारको नेतृत्व गर्ला त ? यो विषय अहिलेका गौन हो ।

केही दिनपछि दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव हुँदैछ । त्यसको मतपरिणाम कुन पार्टीको पक्षमा आउँछ, त्यो भने निश्चित भइसकेको छैन । त्यसलगत्तै एमालेले असोज ६ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।

आगामी मंसिरमा हुने चुनाव र तीनै चरणका स्थानीय चुनावको मतपरिणामका बारेमा उक्त बैठकमा समिक्षा हुने बताइएको छ । उक्त बैठकमा पार्टी सरकारमा जाने किन नजाने भन्ने विषयमा कुरा नउठे पनि सरकारको बाटो तय गर्ने पृष्ठभूमी भने तयार हुने कतिपय एमालेका नेताहरु बताउँछन् ।

के कांग्रेस र माओवादीले बाटो छोडिदिएलान ?
नेकपा एमाले अहिले तत्काल सरकारमा जान हतारिएजस्तो नदेखिए पनि उसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने भित्री तयारी भने गरिरहेको छ । तर अहिलेको देउवा नेतृत्वको सरकारले सहज ढंगले सरकार नछाड्न सक्छ किनभने यो सरकारले स्थानीय तहदेखि संघीय संसद र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरेर सफलता हासिल गर्दैछ ।

जब मंसिरको चुनाव सम्पन्न हुन्छ, त्यो मतपरिणामका आधारमा सरकार निर्माण गर्ने प्रक्रियामा मुलुक जान्छ । कुन पार्टीले बहुमत वा सबैभन्दा बढी मत जित्छ उसको नेतृत्वमा सरकार निर्माण हुने निश्चित छ । तर देउवा नेतृत्वको सरकारले मंसिरको चुनाव सम्पन्न गर्ने सफलता प्राप्त गरेलगत्तै संसदबाट राष्ट्रपतिको निर्वाचन गर्ने प्रक्रियाको समेत नेतृत्व गर्ने अडान लिने निश्चित छ । जसका कारण एमाले दाबी पछि सर्दै जाने संकेत देखिन्छ ।

मंसिरपछि कसको नेतृत्वमा बन्ला सरकार ?
हाल संसदमा रहेका ५९४ जना सांसदहरुको समयावधि आगामी कातिकमा सकिदैछ । मंसिरको निर्वाचनका लागि समयतालिका सार्वजनिक भैसकेकोले कातिक ५ गतेसम्म संसदको म्याद रहेको छ । त्यसपछि निर्वाचन सम्पन्न भएर मतपरिणाम नआउन्जेलसम्म मुलुक संसदविहीन हुन्छ ।

संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपश्चात जुन पार्टीले बढी सिट प्राप्त गर्छ । उसैले सरकारको नेतृत्व गर्छ । तर अहिलेनै कुन पार्टीले जित्छ भन्ने आंकलन गर्न छिटो हुनेछ । यद्यपि,नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रकै पक्षमा पहिलो, दोश्रो र तेश्रो मतपरिणाम आउने आंकलन नगर्न सकिन्छ ।

यी तीन पार्टीमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ । यी दलहरुमा एमालेले यो पटक पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका लागि अघि सार्ने प्रवल सम्भावना छ भने अरु दलहरुले यो विषयमा अहिलेनै निर्णय गरिसकेका छैनन् ।