अन्तर्राष्ट्रिय

उत्तरकोरियाको कदमको कडा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ‘अति उक्साहटपूर्ण’ कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ। राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध चाहिँ नलगाइने जनाएको छ।

उत्तर कोरियाले एक महिनाभित्र जापानी आकाशमा दुई पटक क्षेस्यास्त्र प्रहार गरेको छ। शुक्रवार मात्रै उत्तरी जापानको हकाइदो टापुको आकाशमा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको प्योङयाङले त्यसअघि गत अगस्टको अन्तिम हप्तातिर पहिलो क्षेप्यास्त्र प्रहार गरेको थियो।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार नेता किम जड-उनको अन्तिम लक्ष्य संयुक्त राज्य अमेरिकासरह हैसियत बनाउने रहेको छ ताकि ‘अमेरिकाले सैन्य विकल्पबारे कुरा गर्ने दुस्साहस नगरोस्’।

किमले भनेका छन्, “हामीले ठूलो शक्तिशाली भएको देखाउनेहरुलाई स्पष्ट रुपमा देखाइदिनुपर्छ कि असीमित प्रतिबन्ध तथा नाकाबन्दीका बावजुद हाम्रो देशले पारमाणविक शक्ति हासिल गर्ने लक्ष्य कसरी प्राप्त गर्छ।”

यसअघि अमेरिकाले उत्तर कोरियाविरुद्ध हाल लगाइएका प्रतिबन्धहरुले काम नगरे सैनिक कारबाही गर्न सकिने प्योङयाङलाई चेतावनी दिएको थियो। शुक्रवार बिहानै उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र हकाइदो टापुको आकाश हुँदै ३,७०० किलोमिटरको दूरी तय गरेको थियो।