आर्थिक

काठमाण्डौ महानगरले अर्बौ रुपैया खर्च गर्न सकेन

काठमाण्डौ । काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन ।  महानगरले विभिन्न २१ वटा बजेट शिर्षकमा राजस्व उठाउँदै आएको छ । महानगरले मालपोत, सम्पत्ति बहाल, सवारी, मनोरन्जन, व्यवसायिक भिडियो प्रदर्शनी, विज्ञापन, व्यवसाय लगायतका क्षेत्रमा कर संकलन गर्ने गर्छ ।

त्यसैगरी एफएम स्टुडियो, लगानी, साधारण दस्तुर, बिक्री, दण्ड जरिवाना, सरकारी अनुदान, महानगरको सम्पत्तिबाट हुने आम्दानी तथा विविध विषयमा लाग्ने शुल्क महानगरका मुख्य आम्दानीका श्रोत हुन् ।

गत आर्थिक वर्षमा महानगरमा १० अर्ब ७८ करोड ५९ लाख ७ हजार ४ सय ३५ रुपैया आम्दानी भएको थियो । यो अनुमानित आयभन्दा ३ अर्ब ८६ करोड ३ लाख २५ हजार ४ सय ३५ रुपैया बढी हो ।

आन्तरिक राजस्वमात्रै २ अर्ब ८३ करोड २२ लाख १९ हजार रुपैया उठेको छ । बाह्य स्रोतबाट ६ अर्ब ९८ करोड ७० लाख ४ हजार उठेको महानगरको राजस्व विभागले जानकारी दिएको छ ।

आन्तरिक पनि अनुमानित आयभन्दा बढेको छ । अनुमानित आन्तरिक आय २ अर्ब २५ करोड, ६६ लाख, ८७ हजार रुपैया थियो । ‘अनुमानित भन्दा बढी राजस्व उठाउन सफल भयौं,’ महानगर राजस्व महाशाखा प्रमुख धु्रब काफ्ले भन्छन् ।

उनका अनुसार मालपोत करबाट आम्दानी बढेको छ । गत वर्ष ५९ करोड ८९ लाख २ हजार रुपैया उठेकोमा यो वर्ष ६३ करोड, ५६ लाख २२ हजार २ सय ६७ रुपैया संकलन भएको छ । सम्पत्ति बहाल करबाट १५ करोड २५ लाख ८९ हजार २८ रुपैया उठाएको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, महानगरले हाल बहाल कर १२ प्रतिशत बनाएको छ । गत वर्ष २ प्रतिशत महानगर र बाँकी १० प्रतिशत आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएका थिए ।

स्थानीय निकायको एकल अधिकार अन्तरगत बहाल कर पनि उठाउन पाउने व्यवस्था भएपछि आन्तरिक राजस्व कार्यालयले उठाउदै आएको १० प्रतिशत पनि महानगरले नै उठाउन थालको हो । राजस्व कार्यालयले पनि उठाउन नछाडेपछि करदाता भने दोहोरो करको मारमा परेका छन् ।