पु.समाचार

निर्बाचन आचारसंहिता उलंघनमा एमाले, माओवादी र राजपा यसरी परे आयोगको फन्दामा

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का विनोदप्रसाद जैसवाल र नेकपा (एमाले)का कृष्ण पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका कार्य भएको अनुगमनका क्रममा भेटिएपछि आयोगले ती दुवै पार्टीका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

आयोगले स्पष्टीकरणमा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेवारी रद्द गर्न नपर्ने कुनै कारण भए २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले बारा जिल्लाको पर्सौनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार जैसवालको नेतृत्वमा निर्वाचन आचारसंहिता विपरीतका काम गरेको भेटेको थियो ।

जैसवाललाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, “भदौ ३० गते तपाईंसहितको माओवादी केन्द्रका कार्यकर्ताले बाराको पर्सौनीमा माओवादी केन्द्रको निर्वाचन चिह्नअङ्कित टी–सर्ट, भेस्ट, टोपी, गम्छा लगाई मोटरसाइकलसहितको ¥याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिँदा सोबापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?”

त्यस्तै आयोगको टोलीले एमालेबाट जितपुर सिमरा उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार पौडेलको नेतृत्वमा सयौँका सङ्ख्यामा नेता तथा कार्यकर्ताले एमालेको निर्वाचन चिह्नअङ्कित टी–सर्ट आदि लगाई तोकिएको मापदण्डभन्दा ठूलो आकारको पार्टीको झण्डासहितको ¥याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेटको थियो ।

स्पष्टीकरण पत्रमा भनिएको छ, “निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ? पत्र पाएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।”

राजपा उम्मेदवारसँग स्पष्टीकरण माग

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बारा, कलैया उपमहानगरपालिका–८ का अध्यक्षका उम्मेदवार मनोजकुमार चौरसियासँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजपाका कार्यकर्ता कलैयामा निर्वाचन आचारसंहिताले तोकेभन्दा ठूलो साइजको माइकिङ (डिजे) र ब्यानर प्रयोग गरी निर्वाचन प्रचारप्रसारमा संलग्न रहेको अवस्थामा आयोगको टोलीले उक्त सामग्री नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको थियो । आयोगले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, “आचारसंहिता विपरीतका उक्त क्रियाकलापमा? संलग्न भएबापत तपाईंको उम्मेवारी रद्द किन गर्न नपर्ने हो ” पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन पनि दिइएको छ ।

प्रमुख निर्वाचन आयुक्तबाट स्थलगत अनुगमन

प्रमुख निर्वाचन आयुक्त डा यादवले पर्सा र बारा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रजिअ, निर्वाचन अधिकृत, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख र मतदानमा खटिएका कर्मचारीलाई असोज २ गतेको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको कर्मचारी खटनपटन र शान्तिसुरक्षाको अवस्थालगायतको स्थलगत अनुगमनमा रहनुभएका डा यादवले पर्सा र बारामा भएको कार्यक्रममा भारतसँग सीमा जोडिएका क्षेत्रमा शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउन एवं सीमामा हुने अवाञ्छित आवतजावत तथा गतिविधिलाई कडाइका साथ निगरानी पु¥याउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

आयुक्तद्वय नरेन्द्र दाहाल र सुधीरकुमार शाहले पनि प्रदेश २ का गौर तथा मलंगवाको आजै स्थलगत अनुगमन भ्रमण गरी निर्वाचन व्यवस्थापनका लागि भइरहेको तयारीबारे जानकारी लिएका छन् । उनीहरुले मतदान केन्द्रमा खटिने कर्मचारीको खटनपटनका सम्बन्धमा भएको गम्भीर त्रुटि र लापरबाहीका सम्बन्धमा जिल्लास्तरका मुख्य निर्वाचन अधिकृत, प्रजिअ र अन्य सम्बद्ध पदाधिकारीबीच समन्वयमा भएको कमजोरी सुधार गरी कार्य सञ्चालन गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

आयुक्तद्वयले जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रजिअ निर्वाचन अधिकृत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारीलगायत निर्वाचनमा खटिएका कर्मचारीलाई स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सञ्चालन गर्न र आचारसंहिता पालना गर्न÷गराउन निर्देशन दिँदै मतदानमा उचित सुरक्षा प्रदान गर्न तथा मतगणना व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई सुझाव दिए ।