आर्थिक

एनआइसीको २० औं साधारणसभा सम्पन्न, अध्यक्षमा तुलसीराम अग्रवाल

काठमाण्डौ । एनआईसी एशिया बैंकको २०औं वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको छ ।
सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

उक्त वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवालज्यू र रामचन्द्र संघाई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित गरेको छ । यस अघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेश मानश्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै, साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा श्रीतुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।