राजनीति

मुलुकका सबै शीर्ष नेताहरु दुई नम्बर प्रदेशमा, शुक्रबार कसले कहाँ सम्बोधन गर्देछन् ? यस्ता छन् कार्यक्रम

काठमाण्डौ । दुई नम्बर प्रदेशमा सोमबार हुने तेश्रो चरणको स्थानीय निर्वाचनको प्रचार–प्रसार गर्ने आज अन्तिम दिन । शुक्रबार बेलुकी १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसैले आज सो क्षेत्रमा मुलुकका ठूला दलका शीर्ष नेतारु सबै केन्द्रीत भएका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी लगायतका पार्टी प्रमुखहरुले शुक्रबार दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आयोजित सभाहरुलाई सम्बोधन गर्दैछन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि दुई नम्बर प्रदेशमा केन्द्रीत रहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही हप्तादेखि सो क्षेत्रमा व्यस्त रहेका छन् ।

त्यस्तै,एमाले अध्यक्ष केपी ओली शुक्रबार सो क्षेत्रमा जाँदैछन् भने सो पार्टीका महासचिव ईश्वर पोख्रेल, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरु एक महिनाअघि देखि सो क्षेत्रमा खटिरहेका छन् । शुक्रबार भने सबै दलका शीर्ष नेताहरुले विभिन्न क्षेत्रमा आयोजित सभाहरुलाई सम्बोधन गर्दैछन् ।

कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ? यस्ता छन् कार्यक्रम
शुक्रबार बेलुकीदेखि चुनावका लागि मौन अवधि सुरु हुने भएपछि दिउँसो सबै दलहरुले आक्रमक प्रचार शैली अप्नाएका छन् । मौन अवधि सुरु भएपछि कुनै पनि प्रचार–प्रसार गर्न पाइदैन । त्यसैले आज सबै दलहरुले दुई नम्बर क्षेत्रका विभिन्न जिल्लाहरुमा सभाहरुको आयोजना गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले पर्साको बीरगञ्ज र बाराका सभाहरुलाई सम्बोधन गर्दैछन् भने एमाले अध्यक्ष केपी ओलीले महोत्तरीको बर्दीबास र बाराको जितपुर–सिमरामा आयोजित सभालाई सम्बोधन गर्दैछन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीको लालबन्दी लगायतका स्थानमा आयोजना गरिने सभाहरुलाई सम्बोधन गर्दैछन् ।

त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सिराहामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । उता, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि सिरहा र धनुषा लगायतका जिल्लाहरुमा आयोजना हुने कार्यक्रमहरुलाई सम्बोधन गर्दैछन् ।

यसैबीच नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि दुई नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा आयोजना हुने कार्यक्रमहरुलाई सम्बोधन गर्दैछन् ।  यसरी सबै दलहरुले दुई नम्बर प्रदेशको चुनावी माहोललाई थप तताएका छन् ।

कांग्रेसको आफ्नै दाबी
नेपाली कांग्रेसले दुई नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीले एकसय भन्दा बढी स्थानमा जित हासिल गर्ने दाबी गरेको छ । सो पार्टीका प्रचार–प्रसार विभाग प्रमुख रमेश लेखकले सो दाबी गरेका हुन् ।

दुई नम्बर प्रदेशको चुनावी सभामा सहभागी भएर काठमाण्डौ फर्किएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दुई नम्बर प्रदेशमा कांग्रेसको थप प्रभाव बढेको बताउँदै आफ्नो पार्टीले एक सय भन्दा बढी सिट जित्ने दाबी गरे ।

बिहीबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता लेखकले एमालेले मधेसलाई उपेक्षा गरेको आरोप लगाउँदै उसको पराजय हुने दाबी गरे ।