स्वास्थ्य

भरतपुर क्यान्सर अस्पतालमा ८० शैया थप्ने तयारी

चितवन । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । वि.सं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा रहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० श्यया अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सो भवनको निर्माण सम्पन्न भएको भागमा यही असोज १० गतेदेखि थप ८० श्यया सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

सोही दिन अस्पतालको १८ औँ वार्षिकोत्सव पर्दछ भने १३ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि पर्दछ । यही अवसरमा पहिलो चरणको श्यया थप गरिन लागेको हो । सरकारले भवन निर्माण गरिदिएको भए पनि जनशक्ति भने आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागिएको आचार्यले बताए ।

यस अस्पतालमा वर्षेनी उपचारका लागि आउने बिरामीको संख्या बढ्दो छ । सन् २०१६ मा एकलाख २१ हजार १३५ जनाले अस्पतालबाट बहिरंग सेवा लिएका थिए, जसमध्ये चार हजार ७७५ क्यान्सरका बिरामी रहेको अस्पतालले जनाएको छ ।

सन् २०१५ मा चार हजार ५८१ क्यान्सरकासहित एकलाख १३ हजार ७९९ र सन् २०१४ मा चार हजार ४०१ क्यान्सरकासहित एक लाख १२ हजार ४७६ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

सन् २०१६ को तथ्याँकअनुसार नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी पाठेघरका ६०५, दोस्रोमा फोक्सोका ५९२ र तेस्रोमा स्तनका ४६८ जना रहेका छन् ।

अस्पतालले एक वर्षपछि मात्र तथ्याँक संकलन गरी अन्तिम रुप दिने भएकाले सन २०१६ को तथ्याँक हाल सार्वजनिक गरिएको हो । यो अस्पतालमा नेपालका ७५ जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गर्दछन् ।

सन् २०१६ को तथ्याँकअनुसार सबैभन्दा कम रसुवाका एक जनाले उपचार सेवा लिएका छन् भने सबैभन्दा बढी चितवनका चार हजार ६६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस वर्ष भारतबाट आएका ५४८ जनाले उपचार सेवा लिएका थिए ।