राजनीति

मधेशको विकासमा कटिबद्ध भएको मधेशी जनतालाई थाहा नै छ : प्रधानमन्त्री

रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।  गरुडामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावीसभामा नेपाली काँग्रेसका सभापति देउवाले मधेशको विकासका लागि तराईबाट काठमाडौं जोड्ने द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको र तिनको काम तीव्रगतिमा भइरहेको बताए । समग्र मधेशको विकासका लागि कांग्रेसको विकल्प नभएको बताउँदै प्रधानन्त्री देउवाले भने, “मधेश कांग्रेसको भूमि हुँदा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनुस् ।”
प्रधानमन्त्री देउवाले अब मधेशमा डुबान नहुने गरी समस्याको समाधानका लागि भारतसँग कुरा भएको र चाँडै दुवै देशको सीमा क्षेत्रको अध्ययन गरी दशगजामा लगाइएको बाँधबाट पानीको निकास गराइने बताए।
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सिद्धान्तमा चल्ने पार्टी भएको बताउँदै काँग्रेसलाई जिताएर गाउँगाउँमा विकासको मूल फुटाउनुपर्छ भने । महामन्त्री डा शशांक कोइरालाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अत्यधिक तहमा चुनाव जित्ने जिकिर गरे ।