राजनीति

देशलाई गती दिन काँग्रेसलाई मतदान गर्नुहोस – बरिष्ठ नेता पौडेल

काठमाण्डौ । सर्लाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी सिद्धान्त र आदर्शविहिन पार्टी भएको भन्दै देशलाई अघि बढाउन कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।

सर्लाहीको मलंगवामा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले संविधानमै बहुलबादमा आधारित संसदीय व्यवस्था उल्लेख भइसकेपछि प्रत्यक्ष निर्वाचित कार्यकारकिो वकालत एमाले र माओवादीले गरेको भन्दै त्यस्तो गर्नु राजनीतिक बेइमानी भएको आरोप लगाए ।

एमाले, माओवादी,राजपासँग नैतिकता, आदर्श र सिद्धान्त नै नभएको पौडेलले जिकिर गरे । एमाले र माओवादीलाई लक्षित गर्दै उनको प्रश्न थियो, ‘तपाईंहरु कम्युनिष्ट कि कन्फ्युज ?’

‘आदर्श र सिद्धान्त नभएको पार्टीको लक्ष्य हुँदैन । लक्ष्य नभएको पार्टीले मुलुक कहाँ लान्छ ?’ पौडेलले प्रश्न गर्दै भने, ‘ के हो त आदर्श । संसदीय व्यवस्था स्विकारेर हस्ताक्षर गर्ने । अहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्ने । यस्तो राजनीतिक बेइमानी अब चल्दैन ।’ त्यस्तै राजापाप्रति पनि पौडेलल कडा रुपमा प्रस्तुत भए । ‘राजपाको सिद्धान्त क्षेत्रीयता हो । क्षेत्रीयता सिद्धान्त हो रु’,उनले प्रश्न गरे । राजनीतिक सिद्धान्त र लक्ष्य प्रष्ट भएको पार्टी नेपाली कांग्रेसले मात्र देशलाई समृद्धिको बाटोमा लैजाने भन्दै उनले कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यस्तै उनले भ्रष्टाचारको सञ्जाल बढ्नु देशका लागि दुर्भाग्यपूर्ण भएको पनि बताए । भ्रष्टाचारको जालो रोक्न सकिएन भने देश कता जान्छ थाहा नहुने र त्यसले मुलुकको भविष्यनै अन्धकार बनाउने पनि पौडेलले बताए । ‘हिजोका दरबारीया दक्षिणपन्थी र कम्युनिष्ट वामपन्थीहरले संसदीय व्यवस्था नमान्दा देश पछि पर्यो । संसदीय व्यवस्था भएका देश आज प्रगतीको पथमा छन्,’ पौडेलले भने, ‘ नेपालमा अब राजनीतिको बहस सकियो । बहस व्यवस्थाको होइन विकासको बारेमा गरौं । मुलुकलाई समृद्धिको बाटोमा लैजाउँ ।’