राजनीति

कुनै हालतमा २ नं प्रदेशमा काँग्रेसले १०० तह जित्छ -नेपाली काँग्रेस

काठमाडौँ । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ ।

आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ । असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले काँग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए ।

प्रदेश नं २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्किएका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आममतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै काँग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।

काँग्रेसले स्थानीयस्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ ।

मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा काँग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उनको भनाइ थियो ।

“मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन र मुुलुकलाई समृद्धिको दिशामा लान ल्याइएको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका कारण असफल हुनपुग्यो,” नेता लेखकले भने – “यसले काँग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।”

नेता लेखकले काँग्रेसले अहिलेसम्म भएका उपलब्धिका रुपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिक दललाई संलग्न गराउने वातावरण तयार पारेको पनि उल्लेख गरे । “असन्तुष्ट राजनीतिक दलहरुलाई समेट्न प्रदेश नं २ को चुनाव केही समय पर सार्दा हामीलाई चुनाव नगराउने आरोप लगाइयो,” नेता लेखकले भने – “तर अलिकति लचिलो नीति लिँदा स्थानीय चुनावमा सबै सहभागी हुने वातावरण तयार भयो ।”

उनले संविधान कार्यान्वयनतर्फ गएकामा सन्तुष्टि प्रकट गर्दै भने, “काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरी त्यसअनुरुप निर्वाचन गर्ने वातावरण तयार पारेकाले काँग्रेस नेतृत्वले नै राजनीतिक स्थायित्व कायम गरी विकास अभियानमा नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।”

नेता लेखकले क्षेत्रीय र साना पार्टीहरुले मधेशका बासिन्दाका मुद्दालाई बोकेर निष्कर्षमा पु¥याउन नसक्ने धारणा व्यक्त गर्दै भने – “संविधान संशोधनलगायत तराई मधेशका भारी मुद्दा बोक्न पनि बलियो काँध चाहिन्छ । काँग्रेसबाहेक अरुबाट त्यो सम्भव छैन ।”

नेता लेखकले तराई मधेश रहेको बाढी र डुबानको समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउँदै तराईको विकासका लागि पनि काँग्रेसको नेतृत्वमा थुप्रै काम भएको दाबी गरे ।

उनले ८०० किलोमिटर हुलाकी सडक निर्माण गर्ने, तराई–मधेशलाई काठमाडौँसँग जोड्ने दु्रत मार्ग नेपाली सेनालाई बनाउन दिने, निजगढ विमानस्थल निर्माण गर्नेलगायत रेल्वे सेवा विस्तार, सिँचाइ र शिक्षाका पूर्वाधार काँग्रेसको पालामा बनेका र बनाउने निर्णय भएको उल्लेख गरे ।