आर्थिक

उद्योगमा मानव स्रोतको सही उपयोग हुनुपर्छ: उद्योगमन्त्री

काभ्रे । उद्योगमन्त्री सुनिलबहादुर थापाले ठूला उद्योगका नाममा नेपालीले साना उद्योगलाई बिर्सिसकेको बताए । घरेलु तथा साना उद्योग समितिको धुलिखेलमा भएको तीनदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

“घरेलु तथा साना उद्योग देशको अर्थतन्त्रका मेरुदण्ड हुन्”, मन्त्री थापाले भने । कार्यक्रममा मन्त्री थापाले सहभागीलाई अरुबाट नयाँ कुरा सिक्न र आफ्ना अनुभव साटासाट गर्न लाज मान्न नहुने भन्दै उद्योगमा मानव स्रोतको सही उपभोग हुनुपर्नेमा जोड दिए ।

नेपालमा भएका कच्चा पदार्थलाई कम मूल्यमा बेचेर उत्पादित सामग्री महँगो मूल्यमा आयात गर्नुपर्ने दुःखदायी स्थिति रहेकामा उनले दुःख प्रकट गरे. ।

गोष्ठीमा उद्योगका सञ्चालक समितिका अध्यक्ष दीपेन्द्र आचार्यले घरेलु उद्योगमा काम गर्न लोकसेवा पढेर गए पनि निजामती कर्मचारीसरह सेवासुविधा नपाएको गुनासो पोखे ।

उनले साना उद्योगमा कार्यरत कर्मचारीको भविष्यको ग्यारेन्टी सरकारले गरिदिनुपर्नेमा जोड दिए । साना उद्योगको उपलब्धि, समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा गोष्ठीमा ४८ वटा जिल्लाका कार्यालयका प्रमुखको सहभागिता रहेको छ । गोष्ठीमा कार्यालयका प्रमुखले वर्षभरि कार्यालयमा भएका काम कारबाहीका बारेमा छलफल गर्नेछन् ।